प्रधानमन्त्रीको भारत भ्रमणमा दर्जनभन्दा बढी सम्झौता हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
५९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणमा दर्जनभन्दा बढी सम्झौता हुने

सारांश

  • भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा ६ र ७ गते छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेनको भारत भ्रमणका क्रममा दर्जनभन्दा बढी सम्झौताहरू हुने भएको छ ।
  •  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दर्जनभन्दा बढी सम्झौता र त्यतिमै मात्रामा शिलान्यास पनि हुने भएका छन् ।
  • प्रधानमन्त्रीको शाहको भ्रमणमा दुई देशबिच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारी प्राथमिकतामा राखिएको प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

काठमाडौँ । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा ६ र ७ गते छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेनको भारत भ्रमणका क्रममा दर्जनभन्दा बढी सम्झौताहरू हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दर्जनभन्दा बढी सम्झौता र त्यतिमै मात्रामा शिलान्यास पनि हुने भएका छन् ।

प्रधानमन्त्रीको शाहको भ्रमणमा दुई देशबिच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारी प्राथमिकतामा राखिएको प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबिच आधा घण्टा वान टू वान वार्ता हुने र त्यसपछि हुने दुई पक्षीय वार्तामा प्रस्तावित आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने भ्रमणको तयारीमा लागेका परराष्ट्र मन्त्रालयका ती अधिकारीले बताए ।

‘आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफलको तयारी छ,’ परराष्ट्रका ती अधिकारीले रातोपाटीसँग भने, ‘अझै सबै विषय टुङ्गिएका छैनन् । भोलि बिहानसम्म सबै विषय टुंग्याउनेगरी काम गरिरहेका छौँ ।’

भ्रमणका क्रममा भारतीय आकाश हुँदै महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने नेपालको मागका बारेमा भारत सकारात्मक देखिएको बताउँछन् । नेपालले वर्षौँदेखि भारतसँग यी हवाईमार्ग उपलब्ध गराउन आग्रह गर्दै आए पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले एउटा विषयमा सहमति हुने बताए । महेन्द्रनगरको हो या भैरहवाको त्यो भने यकिन गरेनन्  ।

त्यस्तै अन्य विषय पनि सहमतिका लागि अन्तिम अन्तिम चरणमा पुगेका स्रोतहरू बताउँछन् । ‘अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलामा पुल र भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) को उद्घाटन गर्ने गरी गरिएको तयारी अन्तिम चरणमा पुगेको छ,’ परराष्ट्रका अधिकारीले रातोपाटीसँग भने ।

प्रधानमन्त्री शाहले भ्रमणमा आर्थिक पक्षलाई प्राथमिकता दिने तयारी गरिरहेका छन् । मंसिर ७ गते बिहान नेपाल र भारतका उद्योगी तथा व्यवसायीको भेलालाई सम्बोधन गर्ने तयारी भए पनि निश्चित भइनसकेको ती अधिकारीले बताए ।

भ्रमणमा हवाई सम्पर्क सबैभन्दा बढी महत्त्व नेपालका तर्फबाट दिइएको छ । नेपालले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन गरेको आग्रहलाई भारतले अहिले सकारात्मक रूपमा लिएको सम्बन्ध अधिकारीहरू बताउँछन् । यसअघि भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै थप हवाईमार्ग उपलब्ध गराउन आनाकानी गरे पनि अहिले कम्तीमा एउटा रुट दिने आश्वासन पाएको अधिकारीहरू बताउँछन् ।

भारत सबैभन्दा बढी सकारात्मक महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने प्रस्तावमा रहेको पनि अधिकारीहरूको भनाइ छ । त्यसबारे प्राविधिक पक्षमा छलफल जारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक कर्मचारीले बताए । नेपालले भने महेन्द्रनगरको हवाईमार्ग प्रयोग गर्दा विमान भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने कारण देखाएर भैरहवाको प्रस्तावित मार्ग भने कम उचाइबाट प्रवेश गर्न मिल्ने भएकाले सामान्य उडान तथा अवतरणका लागि बढी उपयुक्त हुने भन्दै सहमतिका लागि आग्रह गरिरहेको छ ।

यसबारे छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसहितको टोली भारतको राजधानी दिल्लीमा पनि पुगेको थियो ।

त्यो टोलीमा रहेका एक सदस्यले भारतले रक्सौलमा निर्माण गरिरहेको विमानस्थलमा नेपालको हवाई क्षेत्र प्रयोग गर्न चाहेको कुरा राखेको जानकारी दिए । त्यसबारे नेपाली टोलीले प्राविधिक विवरण पठाउन आग्रह गरेको थियो ।

नेपाली टोलीले पश्चिम बंगालस्थित बागडोगराका लागि भने भारतले थोरै नेपाली हवाई क्षेत्र प्रयोग गर्ने भएकाले सकारात्मक रहेको बताएको थियो । महेन्द्रनगर, जनकपुर र भैरहवाबाट फरक–फरक उचाइमा हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिए पनि सहमति हुने निश्चित भने भइसकेको छैन ।

प्रधानमन्त्री शाह आइतबार अपराह्न दिल्ली पुग्नेछन् । सोमबार बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनरसहितको स्वागत समारोहमा सहभागी हुने र त्यसै दिन प्रधानमन्त्री मोदीसँग दिवाभोजसहितको औपचारिक द्विपक्षीय वार्तामा सहभागी भएर सोही साँझ स्वदेश फर्किने कार्यतालिका तय भए पनि सार्वजनिक गरिएको छैन ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग शिष्टाचार भेट गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

भ्रमणका क्रममा अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास हुनेछ । सूचना प्रविधि, बन्दरगाहलगायत नयाँ क्षेत्रमा सहकार्यबारे समझदारीपत्रमा हस्ताक्षर हुने पनि तय भइसकेको छ । एक दर्जनभन्दा बढी नयाँ परियोजना सुरु गर्ने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दियो ।

भ्रमणको कार्यतालिका र सहमति गर्ने विषयबारे परराष्ट्रसचिव अमृत राईले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?