अशोक यादव पक्राउको विरोधमा मलंगवामा मसाल जुलुस
सारांश
- नेकपाका नेता अशोक यादवको पक्राउको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार साँझ मसाल जुलुस निकालिएको छ।
- नेकपाका नेता तथा कार्यकर्ताले जिल्ला विकास समितिको तीनबिघे मैदानबाट नगरपालिका चौकतर्फ मसाल जुलुस निकालेका थिए।
- तर बालमन्दिर चौक पुगेपछि प्रहरीले जुलुसलाई अघि बढ्न नदिई तितरबितर गरेको थियो।
अशोक यादव पक्राउको विरोधमा मलंगवामा मसाल जुलुस
३० भदौ, सर्लाही। नेकपाका नेता अशोक यादवको पक्राउको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार साँझ मसाल जुलुस निकालिएको छ।
नेकपाका नेता तथा कार्यकर्ताले जिल्ला विकास समितिको तीनबिघे मैदानबाट नगरपालिका चौकतर्फ मसाल जुलुस निकालेका थिए। तर बालमन्दिर चौक पुगेपछि प्रहरीले जुलुसलाई अघि बढ्न नदिई तितरबितर गरेको थियो। सो क्रममा प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए भने पाँच जनालाई नियन्त्रणमा समेत लिइएको छ।
प्रदर्शनकारीहरूले यादवको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका थिए। उनीहरूले ‘झुटा मुद्दा खारेज गर’, ‘अशोक यादवलाई रिहा गर’, ‘छानबिन समिति गठन गर’ र ‘राजनीतिक प्रतिशोध बन्द गर’ लगायतका नारा लगाएका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवलाई गत मंगलबार ललितपुरको धापाखेलबाट पक्राउ गरी सर्लाही ल्याइएको हो। प्रहरीका अनुसार उनी कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादी हुन्।
सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार जिल्ला अदालत सर्लाहीले उक्त मुद्दामा अनुसन्धानका लागि सुरुमा पाँच दिन र त्यसपछि थप छ दिनको म्याद दिएको छ।
प्रहरीले यादवविरुद्ध राज्यविरुद्धको कसूर, चोरी, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्तिविरुद्धको कसूर, आपराधिक प्रवेश र आपराधिक उपद्रवलगायत ११ वटा विभिन्न कसूरमा अनुसन्धान भइरहेको जनाएको छ।
गत वर्ष असारमा तत्कालीन सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँगको विवादपछि यादव चर्चामा आएका थिए।
प्रतिक्रिया