कृषि विद्युतीकरणपछि तीन बाली उब्जनी, गाउँपालिकाले तिरिदिन्छ महशुल
सारांश
- सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानको खेतखेतमा कृषि विद्युतीकरण गरी विद्युत महसुल समेत तिरिदिन थालेपछि उब्जनी बढेको छ ।
- यसअघि मुस्किलले दुई बाली मात्र खेती हुने यस ठाउँमा अहिले भने कृषि विद्युतीकरण भई सिँचाईको सुविधा भएसँगै तीन बालीसम्म खेती हुन थालेको किसानले बताएका छन् ।
- चन्द्रनगर गाउँपालिका २ बबरगन्जका किसान जुगल महतो गाउँपालिकाले खेतमा विद्युतीकरण गरी सिँचाई सुविधा उपलब्ध गराएपछि खेती गर्न लागत घटेको बताउँछन् ।
२१ असार, सर्लाही ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानको खेतखेतमा कृषि विद्युतीकरण गरी विद्युत महसुल समेत तिरिदिन थालेपछि उब्जनी बढेको छ । यसअघि मुस्किलले दुई बाली मात्र खेती हुने यस ठाउँमा अहिले भने कृषि विद्युतीकरण भई सिँचाईको सुविधा भएसँगै तीन बालीसम्म खेती हुन थालेको किसानले बताएका छन् । चन्द्रनगर गाउँपालिका २ बबरगन्जका किसान जुगल महतो गाउँपालिकाले खेतमा विद्युतीकरण गरी सिँचाई सुविधा उपलब्ध गराएपछि खेती गर्न लागत घटेको बताउँछन् । अहिले इन्धन महँगो भएको समयमा कृषि विद्युतीकरणले किसानलाई धेरै फाइदा गरेको उनको भनाइ छ । “सिँचाई सुविधा भएपछि चन्द्रनगर गाउँपालिकाभित्रका किसानले अहिले मकै, गहुँ, धान, आलु, कोभी, भेन्डी, प्याजलगायत हरेक बाली लगाउन सक्ने भएका छन्,” उनले भने,“किसानलाई अब पहिले जस्तो पानीको पिर छैन् ।” डेढ बिघा जमिनमा खेती गर्दै आएका अर्का किसान रामपुकार महतो गाउँपालिकाले कृषि विद्युतीकरण गरेर खेतखेतमै सिँचाई सुविधा ल्याएपछि खुसी छन् ।


त्यस्तै अर्का किसान रामदिनेश साह पप्पसेट चलाउन पर्दा खर्च धेरै लागे पनि खेतमै बत्ती आएपछि सजिलो भएको बताउँछन् । उनी सबै ठाउँमा बत्ती पुर्याउनुपर्नेमा जोड दिन्छन् । “अहिले तेल महँगो भएको बेला गाउँपालिकाको कृषि विद्युतीकरण किसानलाई बरदान सावित भएको छ।” उनले भनेका छन् । किसान धनेश्वर साहका अनुसार कृषि विद्युतीकरणको शुल्क किसानले तिर्नुपर्दैन । बिल लगेर गाउँपालिकालाई बुझाए पछि गाउँपालिकाले नै सबै शुल्क तिरिदिने गरेको छ । यसबाट किसान उत्साहित भएर खेतीमा लागेका छन् । धनेश्वर भन्छन–“अब नेपाल सरकारले मलखाद पनि सहज गरिदिए किसान थप उत्साहित र खुसी हुने छन् ।” चन्द्रनगर गाउँपालिकाकै जितेन्द्र साह अब पहिले जस्तो खडेरीको मार खेप्नु नपरेको बताउँछन् । “अब त आकाशे वर्षा नभए पनि कृषि विद्युतीकरण गरेर बोरिङमार्फत सिँचाई गरेर खेती गर्न सजिलो भएको छ,” उनले भने, “अब पहिले जस्तो आकाशे वर्षा नभएर खेती नहुने अवस्था हटेको छ ।” खेतखेतमा विद्युत आपूर्ति पुगेपछि किसान खुसी रहेका उनको भनाइ छ । चन्द्रनगर गाउँपालिकाले विगत ३ वर्षदेखि किसानको कृषि विद्युतीकरणको पैसा तिरिदिने गरेको छ ।

गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख अरविन्द कुमार सिंहका अनुसार गाउँपालिकाभित्र ६७ प्रतिसत भन्दा बढी किसान कृषि पेशामा आवद्ध छन् । वर्तमान जनप्रतिनिधि निर्वाचित भएर आएदेखि अधिकतम नागरिक कृषि पेशामा आवद्ध रहेको भन्दै कृषि विद्युतीकरण र विद्युत महसुल निःशुल्क गर्ने कुरामा जोड दिइएको हो । यहाँ कोही किसानले आफ्नै खेतमा तथा कसैले अरुको खेत भाडा वा बटैया लिएर पनि बाली लगाउने गरेका छन् । केही वर्षअघि सम्म बाँझो देखिने खेतबारीमा अहिले बाह्रैमास खेती भइरहेको देखिन्छ । हरेक फाँट प्रायः हराभरा हुन्छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार निर्वाचित भएर आएपछि मुल समस्या सिँचाईको देखेपछि कृषि विद्युतीकरणमा जोड दिइएको हो ।

मलको समस्या समाधान गर्ने अवस्था स्थानीय सरकारसँग नरहे पनि किसानको सिँचाईको समस्या समाधान गर्न भने गाउँपालिकाले पहल थालेको उनी बताउँछन् । उनले भने, “सम्भव भएसम्म प्रत्येक किसानको खेतमा बोडिङ गाड्ने, समरसियल हाल्ने र मोटर जडान गर्ने काम भएका छन् ।” ७ वटा वडाको ३२ वटा वडामा कृषि विद्युतीकरण जारी नै रहेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । अधिकतम ठाउँमा विद्युतीकरण भइसकेको र बाँकी एरियामा आगामी आर्थिक वर्षसम्ममा कृषि विद्युतीकरण पूर्ण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कृषि विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी किसानको खेतखेतमा पोल, तारलगायतका संरचना पुर्याउन कुनै शुल्क लिएको छैन् । यसबाट गाउँपालिकाभित्र विपिन्न वर्गका किसानले राहत पाएका छन् ।


प्रतिक्रिया