मुसैली पोखरीको बजेट छानबिन गर्न माग गर्दै सीडीओलाई ज्ञापनपत्र
सारांश
- सर्लाहीको मलंगवा नगरपालिका–७ स्थित मुसैली बड्की पोखरीको सौन्दर्यीकरण तथा निर्माण कार्य सात वर्षदेखि अलपत्र रहेपछि काम तत्काल अघि बढाउन र विनियोजित बजेटको निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
- हिन्दू सम्राट नेपाल, सर्लाही जिल्ला कार्यसमितिले पोखरी निर्माणमा भएको ढिलाइ र बजेट खर्चमा अनियमितता भएको आशंकासहित छानबिनको माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो।
- समितिले अलपत्र निर्माण कार्य तत्काल सम्पन्न गर्न र आयोजनाका लागि विनियोजित बजेटको खर्च विवरण सार्वजनिक गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ।
२६ असोज, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–७ स्थित मुसैली बड्की पोखरीको सौन्दर्यीकरण तथा निर्माण कार्य सात वर्षदेखि अलपत्र रहेपछि काम तत्काल अघि बढाउन र विनियोजित बजेटको निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
हिन्दू सम्राट नेपाल, सर्लाही जिल्ला कार्यसमितिले पोखरी निर्माणमा भएको ढिलाइ र बजेट खर्चमा अनियमितता भएको आशंकासहित छानबिनको माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो। समितिले अलपत्र निर्माण कार्य तत्काल सम्पन्न गर्न र आयोजनाका लागि विनियोजित बजेटको खर्च विवरण सार्वजनिक गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ।
मधेश प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत मुसैली बड्की पोखरीको सौन्दर्यीकरणका लागि सात वर्षअघि ७ करोड १८ लाख रुपैयाँ विनियोजन गरेको थियो। तत्कालीन मुख्यमन्त्री लालबाबु राउत, संघीय सरकारका तत्कालीन मन्त्री महेन्द्र राय यादव र मधेश प्रदेशसभाका तत्कालीन सदस्य अशोक यादवलगायतको उपस्थितिमा आयोजनाको शिलान्यास गरिएको थियो।
तर, ठूलो बजेट विनियोजन गरी तामझामका साथ शिलान्यास गरिएको आयोजना सात वर्ष बितिसक्दा पनि अधुरै रहेपछि स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन्।
पोखरीको निर्माण कार्य अघि बढाउन माग गर्दै स्थानीयले सोमबार बिहान पूर्व–पश्चिम हुलाकी राजमार्गमा चक्काजामसमेत गरेका थिए। करिब तीन घण्टा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको थियो।
चक्काजामको नेतृत्व गरेका सर्लाही क्याम्पस, मलंगवाका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुजितकुमार यादवले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको बताए। उनले पोखरीको निर्माण तत्काल अघि बढाउन र आयोजनासँग सम्बन्धित निकायलाई जवाफदेही बनाउन माग गरे।
सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतम स्वयं घटनास्थलमा पुगेर आन्दोलनरत युवाहरूसँग छलफल गरेका थिए। छलफलपछि युवाहरूले सडक खुलाएका थिए।
स्थानीयले पोखरीको अधुरो निर्माण कार्य शीघ्र सम्पन्न गर्न र विनियोजित बजेटको वास्तविक अवस्था सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिक्रिया