उपचार खर्च जुटाउन नसक्दा दुर्घटनामा घाइते महिलाको घरमै मृ*त्यु
सारांश
- सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचार अभावमा घरमै मृत्यु भएको छ ।
- धनकौल गाउँपालिका–२ तेल बजारकी ४५ वर्षीया बच्ची देवी भनिने पचिया देवी साहको मंगलबार राति मृत्यु भएको हो ।
- गत आइतबार छठ पर्वको साँझ करिब ७ बजे तेल बजारबाट हरकटवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेकी साहलाई पछाडिबाट ठक्कर दिएको थियो ।
३ मंसिर, सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचार अभावमा घरमै मृत्यु भएको छ ।
धनकौल गाउँपालिका–२ तेल बजारकी ४५ वर्षीया बच्ची देवी भनिने पचिया देवी साहको मंगलबार राति मृत्यु भएको हो ।

गत आइतबार छठ पर्वको साँझ करिब ७ बजे तेल बजारबाट हरकटवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेकी साहलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने बायाँ खुट्टा भाँचिएको थियो ।
दुर्घटनापछि उनलाई उपचारका लागि सुरुमा वीरगञ्ज लगिएको थियो । नारायणी अस्पताल हुँदै थप उपचारका लागि नेसनल मेडिकल कलेज (एनएमसी) पुर्याइएकी साहको अवस्था गम्भीर थियो । उनी बोल्नसमेत नसक्ने अवस्थामा पुगेकी थिइन् ।
तर, आर्थिक अभावका कारण थप उपचार गराउन नसकेपछि परिवारले मंसिर १ गते साँझ उनलाई घर फर्काएको थियो । घर ल्याएको करिब २८ घण्टापछि मंगलबार राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महिलाको मृत्यु भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय हरकटवाबाट प्रहरी नायब निरीक्षक भीम पौडेलको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।

पोस्टमार्टमपछि बुधबार दिउँसो १ बजे मृतककी बुहारी रीता देवीले शव बुझेर लगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार दुर्घटना गराएर फरार भएको मोटरसाइकल र चालकको खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया