प्रादेशिक अस्पताल मलंगवामा नियमित खोप सेवा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
१९८ पटक हेरिएको
Shares
प्रादेशिक अस्पताल मलंगवामा नियमित खोप सेवा सुरु

सारांश

  • सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा नियमित खोप सेवा सुरु गरिएको छ ।
  • अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादव, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
  • सञ्जीवकुमार झा लगायतको उपस्थिति थियो ।

३ मंसिर, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा नियमित खोप सेवा सुरु गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादव, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीवकुमार झा लगायतको उपस्थिति थियो ।

खोप सेवा सुरु गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यादवले अस्पतालबाट नियमित खोप सेवा सञ्चालन हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले बालबालिकालाई खोपको पहुँचमा ल्याउन र आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न अस्पतालले थप जिम्मेवारीका साथ काम गर्ने बताए ।

‘बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनु राज्यको महत्वपूर्ण दायित्व हो,’ उनले भने, ‘अस्पतालबाटै नियमित खोप सेवा सुरु भएपछि स्थानीयले सहज रूपमा सेवा पाउनेछन् । यसको प्रभावकारी सञ्चालन र निरन्तरताका लागि अस्पताल व्यवस्थापनले आवश्यक पहल गर्नेछ ।’

त्यस्तै, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीवकुमार झाले नियमित खोप बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने महत्वपूर्ण माध्यम भएको बताए । उनका अनुसार निर्धारित समयमा खोप लगाउन सके बालबालिकालाई रोगको जोखिमबाट जोगाउन सकिन्छ ।

‘खोप कार्यक्रमलाई प्रभावकारी बनाउन नियमितता र जनचेतना दुवै आवश्यक छन्,’ उनले भने, ‘लक्षित उमेर समूहका सबै बालबालिकाले समयमै खोप पाऊन् भन्ने उद्देश्यले अस्पतालमा सेवा सुरु गरेका हौं ।’

नियमित खोप सेवा सञ्चालनमा आएसँगै मलंगवा तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई खोप सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?