सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
सारांश
- मलंगवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन बालकसहित पाँच जनालाई पक्राउ गरेको छ।
- जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत सोमबार राति राजीव शर्माको घरबाट सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी भएको थियो।
- घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो।
२५ वैशाख, सर्लाही ।
मलंगवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन बालकसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत सोमबार राति राजीव शर्माको घरबाट सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी भएको थियो। घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धान र प्राविधिक विश्लेषणका आधारमा चोरीमा संलग्न रहेको आशंकामा १४, १५ र ११ वर्षका तीन बालकलाई वैशाख २२ गते नियन्त्रणमा लिएको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा ३५ र ४० वर्षका दुई महिलालाई पनि पक्राउ गरिएको छ। उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीका अनुसार पक्राउ परेकाहरूको घरमा गरिएको खानतलासीका क्रममा चोरी भएका विभिन्न सामान बरामद गरिएको छ। बरामद सामग्रीमा सुनका औँठी, मंगलसूत्र, तिलहरी, कानका टप, चाँदीका बाला, पाउजु, बिछिया, घडी, लेडिज पर्स, मोबाइल र चेकबुकलगायत छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार पक्राउ परेकाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया