पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने

सारांश

  • एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले पाकिस्तानबाट जितका लागि एक सय पाँच रनको लक्ष्य पाएको छ ।
  • मलेसियामा जारी उक्त खेलमा टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो ।
  •   पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाइन् ।

१ पुस, काठमाडौँ ।

एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले पाकिस्तानबाट जितका लागि एक सय पाँच रनको लक्ष्य पाएको छ । मलेसियामा जारी उक्त खेलमा टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो ।  पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाइन् । उनले ४४ बलमा दुई चौका पनि प्रहार गरिन् । महाम एनिसले पनि टोलीको खातामा अविजित २९ रन थपिन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् ।  राविल फरहानले १३ र कप्तान जुफिसान आयाजले १२ रन बनाए । फातिमा खान ६ रनमा अविजित रहिन् ।

नेपाली टोलीकी बलर पूजा महतोले दुई विकेट लिइन् । रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले पनि एक–एक विकेट हात पारे । जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेलेको हो । आठ दिनसम्म चल्ने प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।  समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका रहेका छन् । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । भारत र पाकिस्तान पनि नेपालकै समूहमा छन् । नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।

प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा वरीयता निर्धारणका लागि पनि खेल हुनेछ ।  प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादव, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् । यसअघि प्रतियोगिताको पहिलो दिन आइतबार खेलिएको खेलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

अर्को खेलमा श्रीलंकाले आयोजक मलेसियालाई ९४ रनको फराकिलो अन्तरले हराएको थियो ।  प्रतियोगिताको दोस्रो दिन सोमबार खेलिएको पहिलो खेलमा भने बंगलादेशले श्रीलंकालाई २८ रनले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित १७ ओभरमा नौ विकेट गुमाएर एक सय २२ रन बनायो । जवाफमा श्रीलंकाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?