प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार
अमरेश कुमार पाण्डेय।
१५ फागुन, कलैया । जिल्ला प्रशासन कार्यालय बारामा राहदानी शाखामा कार्यरत खरिदार पदका एक कर्मचारीका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
खरिदार पदमा कार्यरत कर्मचारी रामस्नेही यादवका कारण नयाँ राहदानीका लागि बायोमेट्रीक गर्न जाने सेवाग्राहीहरु समस्यामा पर्ने गरेका हुन् । कार्यालय समय भित्र सकेसम्म कम समय मात्र बस्ने कर्मचारी यादवले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय बाराले नयाँ राहदानी बनाउनका लागि गरिने बायोमेट्रीकमा अहिले कोटा प्रणालीको विकास गरि टोकनको व्यवस्था गरेको छ । तर यादवले भने जुनसुकै मितिको टोकनलाई पनि चिया नास्ताको खर्च लिई समय भन्दा पहिला नै गर्ने गरेको कार्यालय श्रोतको दाबि रहेको छ । सेवाग्राहीले यादवले भनेको मानेमा जुनसुकै मितिको टोकन भएपनि छिट्टै काम हुने र नमानेको खण्डमा सेवाग्राहीलाई विभिन्न किसीमको दुख दिने गरेका छन् ।
कार्यालय श्रोतका अनुसार पहिला १ सय देखी १ सय २० वटा सम्म बायोमेट्रीक हुने कार्यालयमा अहिले ४० देखि ७० मात्र भईरहेको छ त्यसमा पनि यादवले कुनै काम नगर्ने र उनका अर्का सहयोगीलाई काम गर्न दबाव दिने गरेका छन् । कार्यालय श्रोतको सुचनाको आधारमा मंगलबार दिउँसो १ बजेको समयमा उक्त शाखामा पुग्दा यादव कसैलाई केही नबताई अनुपश्थित थिए तर सेवाग्राही भने झ्याल बाहिर उनलाई कुरेर बसेका थिए । सेवाग्राही मध्येका जितपुरसिमरा उपमहानगरपालिका ५ का संतोष दाहालले आफ्नो कागजात रुजु गर्नका लागि आधि घण्टादेखि कुर्दा पनि यादव सर नआएको बताए ।
त्यती मात्र कहाँ हो र टोकनको मिति लामो समयको भए अर्जेन्टमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीले तोक लगाईदिदा त्यस्ता टोकनलाई खरिदार यादवले सिधै टेबलबाट फाल्ने गरेका छन् । आफुलाई त्यस्ता तोकले कुनै फरक नपर्ने भनेर सेवाग्राहीलाई अपमानित गर्ने गरेको कलैयाका स्थानीय अनिल कुशवाहाले बताए ।
यस विषयमा यादवले भने म कसैको आदेश मान्दीन मलाई जे मन लाग्छ म गर्छु भन्ने खालको प्रतिकृया दिएका छन् । उनले भने “प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारी मेरो शाखामा काम गर्न आउदैनन् त्यही भएर मलाई जे मन लाग्छ म त्यो गर्ने हो” । काम नगर्ने र सेवाग्राहीलाई विभिन्न बहानामा दुख दिने यस्ता कर्मचारीलाई स्थानीयले कार्वाहीको माग गरेका छन् ।
Post Comment