गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड
सारांश
- सर्लाहीको बरहथवा नगर अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्।
- बरहथवा नगरपालिका–५ हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएको हो।
- नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन्।
अमलेश शर्मा
७ मंसिर, सर्लाही। सर्लाहीको बरहथवा नगर अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्। बरहथवा नगरपालिका–५ हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएको हो। नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन्। उनको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको थियो।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारका क्रममा उनी अचानक बेहोस भएपछि चिकित्सकको लापरबाहीका कारण यस्तो भएको भन्दै आफन्तले अस्पतालभित्र तोडफोड र आगजनी गरेका थिए।
थप उपचारका लागि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल पुर्याइएको थियो। त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
घटनापछि बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी तथा तोडफोड भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले बताएका छन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ। आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी अस्पतालको सुरक्षा व्यवस्था मिलाइएको छ। आइतबार बिहानसम्म अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषयमा भने आधिकारिक पुष्टि भइसकेको छैन।
प्रतिक्रिया