चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २१, २०८३
|
|
४८ पटक हेरिएको
Shares
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने

सारांश

  • सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदा नाढीमन ताल संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले प्रयास गर्दै आइरहेको छ ।
  • स्थानीयका अनुसार जैविक विविधता, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यो तालसम्म पुग्न भिन्न सडक बनेका छन् ।
  • नाढीमन क्षेत्रका स्थानीय विन्देश्वर महत नाढीमन ताललाई जोड्ने सडकहरु व्यवस्थित भए ताल परिसर जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल बन्न सक्ने बताउँछन् ।

 

२१ असार, सर्लाही ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदा नाढीमन ताल संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले प्रयास गर्दै आइरहेको छ । स्थानीयका अनुसार जैविक विविधता, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यो तालसम्म पुग्न भिन्न सडक बनेका छन् । नाढीमन क्षेत्रका स्थानीय विन्देश्वर महत नाढीमन ताललाई जोड्ने सडकहरु व्यवस्थित भए ताल परिसर जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल बन्न सक्ने बताउँछन् ।गाउँपालिकाले अझ पहल गरेर सडक निर्माणसँगै तालको सरसफाइ र सजावटमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यो प्राकृतिक तालसम्म आउन धेरै मानिस लालहित छन् तर यसको उचित संरक्षणसँगै यहाँसम्म आउन सडकहरु ठीकठाक हुन जरुरी छ ।’ स्थानीय बासिन्दाले तालको संरक्षण, नियमित सरसफाइ तथा पर्यटकीय पूर्वाधार निर्माणमा ध्यान पुग्नुपर्ने बताएका छन् । तालको वरिपरि व्यवस्थित विश्रामस्थल, सूचना बोर्ड तथा हरियाली व्यवस्थापन गरिए आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको अर्का स्थानीय हरिराम सहनी बताउँछन् । सहनीका अनुसार नाढीमन तालको ऐतिहाँसिक अवस्थाबारे प्रचारप्रसार गर्न जरुरी रहेको उनले बताए । ‘तालबारे हामी अहिलेका पुस्ताले धेरै कुरा सुनेका छौं’,  सहनीले भने ‘यो ताल भरत ताल भन्दा पनि राम्रो छ तर यसको संरक्षणमा जोड दिनुपर्छ ।’ उनले ताल संरक्षण गर्न पालिकाले गरेको प्रयास र पुराना बोट संचालनमा गरेको प्रयास पनि सराहनिय रहेको बताए । उनले सुरुमा ताललाई घेराबेरा गरेर थप अतिक्रमण हुन दिन नहुनेमा जोड दिए । वर्षायाममा तालमा पानीको सतह बढ्ने र विभिन्न प्रजातिका चराचुरुङ्गी तथा जलचर देखिने गरेका छन् । वातावरण संरक्षणसँगै स्थानीय आयआर्जनमा समेत योगदान पुग्ने भएकाले तालको दीर्घकालीन संरक्षण आवश्यक रहेको अर्का स्थानीय कृष्णनन्दन मण्डल बताउँछन् ।

चन्द्रनगर गाउँपालिका निवासी पुराना राजनीतिज्ञ सत्यदेव सिंह दनुवार ऐतिहासिक नाढीमन तालको संरक्षणमा गाउँपालिकासँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिन्छन् । उनी गाउँपालिका एक्लैले ताल संरक्षण गरेको भए पनि प्रदेश र संघ सरकारले सहयोग नगरेकोप्रति दु:खी छन् ।उनले नाढीमन र चन्द्रनगर गाउँबीच ऐतिहासिक सम्बन्ध रहेको बताए । ‘यहाँबाट निर्वाचित सांसदहरुले तालको संरक्षण र विकासका लागि पहल गरेको र बजेट राख्न इच्छा देखाएको पाइँदैन्’, उनले भने, ‘हामीले त विभिन्न सांसद, नेताहरुकहाँ कुरा राख्यौँ तर कसैले वास्ता गरेका छैनन् ।’ चन्द्रनगर गाउँपालिकाले पनि प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आवश्यक योजना अघि बढाएको छ । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले नाढीमन ताललाई जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रयास गरिरहेको बताउँछन् ।

नाढीमन तालमा यक्षदह निर्माणदेखि बन्द भएका बोट संचालन, पर्खाल निर्माणगर्नेलगायतका काम गरिरहेको उनले बताए । ‘नाढीमन ताल केवल जलाशय मात्र नभई स्थानीय इतिहास, संस्कृति र वातावरणसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षणलाई लागि सबै पक्षसँग समन्वय गरिरहेकै छौं’, गाउँपालिका अध्यक्ष महतोले भने, ‘यस्तो ऐतिहाँसिक स्थलको संरक्षण गर्न हाम्रो तर्फबाट पनि हरसम्भव प्रयास गरिरहेकै छौं ।’ नेपाल सरकारले यसलाई देशका उत्कृष्ट १०० भ्रमण स्थलको सूचीमा राखेको छ । ऐतिहासिक नामकरण: वि.सं. १९७४/०७५ तिर राणा प्रधानमन्त्री चन्द्र शम्शेरले यो क्षेत्र बडाकाजी मरिचमान सिंह प्रधानलाई दिएका थिए । तिनै मरिचमान सिंहको नामबाट यसलाई नाढीमन भनिएको हो । कुनै समय यो ताल ५१ बिगाहा जमिनमा फैलिएको थियो । तर, अतिक्रमणका कारण अहिले यसको पानीको भाग खुम्चिएर करिब ३५ बिगाहामा सीमित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ