ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
३२ पटक हेरिएको
Shares
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति

सारांश

  • नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
  • ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएको थियो ।
  • काठमाडौं प्रशासनले अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

 

२ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएको थियो ।

काठमाडौं प्रशासनले अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । जोशीको समूहले २४ माघको राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति होहल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । प्रहरीलाई कुटपिट गरेपछि यसअघि गत आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् । प्रहरी कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अहिलेसम्म फरार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?