काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा पहिरो, आवतजावत ठप्प
सारांश
- बिहीबार दिउँसैदेखि निरन्तर परिरहेको वर्षाको कारण पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा आवतजावत ठप्प बनेको हो।
- धादिङको कृष्णभिरसहित आधा दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ।
- कृष्णभिरसहित सात ठाउँमा गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काले जानकारी दिए।
काठमाडौँ आवतजावत गर्ने सबै मुख्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन्।
बिहीबार दिउँसैदेखि निरन्तर परिरहेको वर्षाको कारण पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा आवतजावत ठप्प बनेको हो।
धादिङको कृष्णभिरसहित आधा दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ।
कृष्णभिरसहित सात ठाउँमा गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काले जानकारी दिए।
बिहीबार साँझदेखि रातभर आवतजावतमा रोक लगाइएको पृथ्वीराजमार्गमा शुक्रबार बिहान ५ बजेदेखि गाडी सञ्चालन गर्न दिने तयारी स्थानीय प्रशासनको थियो। तर, अब यो राजमार्ग अनिश्चित कालको लागि बन्द भएको एसपी खड्काले बताए।
‘पहिरो पन्छाउने प्रयास भैरहे पनि निरन्तरको वर्षाका कारण समस्या भएको छ,’ एसपी खड्काले भने।
गएको भदौ १४ गते त्रिशूली नदीको काटानको कारण कृष्णभिर क्षेत्रको सडक भासिएपछि दुई साता लगाएर डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो। सोही डाइभर्सनसहितका ठाउँमा पहिरो झरेको हो।
जिल्ला प्रशासन कार्यालय, धादिङले शुक्रबार (आज) बिहान सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ।
मौसम विज्ञान विभागले आगामी केही दिनसम्म अझै भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको चेतावनी दिएकाले सम्भावित जोखिम र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिइन्।
‘अविरल वर्षा र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ। मौसम पूर्वानुमान अनुसार अझै भारी वर्षाको जोखिम रहेकाले यात्रु र सवारी साधनको सुरक्षाका लागि अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा आवागमन पूर्ण रोक लगाइएको छ। अति आवश्यक नपरी घरबाहिर ननिस्कन अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ।

प्रशासनले यात्रा नगर्न र सुरक्षा निकायहरूसँग निरन्तर समन्वयमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
यसैबिच आज बिहान ४ः३० बजे बीपी राजमार्गमा पर्ने काभ्रेको रोसी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए।
वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि बिहीबारदेखि नै रातको समयमा बीपी राजमार्गको काभ्रे खण्ड बन्द गरिएको थियो।
स्थानीय प्रशासनले असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाएकाे प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
पहिरो खसेपछि कान्तिलोकपथमा पनि आवतजावत पूर्णरूपमा रोखिएको ललितपुरका एसपी गाैतम मिश्रले जानकारी दिए।
प्रतिक्रिया