मधेसमा नयाँ सरकारको लागि दावी पेस गर्ने समयसीमा आज सकिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८३
|
|
४४ पटक हेरिएको
Shares
मधेसमा नयाँ सरकारको लागि दावी पेस गर्ने समयसीमा आज सकिँदै

सारांश

  • मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो।
  • प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले गत कात्तिक २८ गते नयाँ सरकार गठनको लागि दावी पेस गर्न दलहरुलाई आज (मंसिर ४ गते)सम्मको समय सीमा तोकेका छन्।
  • संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न भनिएको छ।

 

मधेस प्रदेशमा नयाँ सरकार गठनको लागि दावी पेस गर्ने समयसीमा आज सकिँदैछ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले गत कात्तिक २८ गते नयाँ सरकार गठनको लागि दावी पेस गर्न दलहरुलाई आज (मंसिर ४ गते)सम्मको समय सीमा तोकेका छन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न भनिएको छ।

तर, दलहरुको तयारी हेर्दा आज दावी पेस हुने सम्भावना कम रहेको मधेस प्रदेशका निवर्तमान गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए। ‘दलहरुको तयारी हेर्दा आज मुख्यमन्त्रीमा दावी पेस होला जस्तो मलाई लाग्दैन,’ उनले   भने, ‘प्रदेश प्रमुखले दावी पेस गर्न आज थप समय दिने सम्भावना छ।’

संविधानको धारा १६८ को उपदफा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ।

तर, अहिलेसम्मको तयारी हेर्दा दलहरुबिच सहमती भएर आजै मुख्यमन्त्रीमा दावी पेस हुने सम्भावना कमजोर रहेको मधेसका अर्का निवर्तमानमन्त्री जवाहर कुशवाहाले जानकारी दिए।

‘सबै प्रमुख दलका नेताहरु अहिले काठमाडौँतिरै हुनुहुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘सबैलाई नेतृत्व आफैँले पाए हुन्थ्यो भन्ने लागेको छ। मुख्यमन्त्रीको विषयमा ठोस सहमति जुटिसकेको छैन।’

निवर्तमान श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले मधेस सरकारमा अबको नेतृत्व कुन दलले गर्ने भन्ने विषय टुंगि नसकेको बताइन्। ‘सरकारको नेतृत्वमा हाम्रो पनि दाबी छ। तर, दलहरुबिच सहमति जुटिसकेको छैन,’ उनले भनिन्।

मधेस प्रदेश सरकारमा सहभागी एमाले र नेकपाले कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई दिएको समर्थन फिर्ता लिएपछि गत कात्तिक २८ गते यादवले पदबाट राजीनामा दिएका थिए।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्।

त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।

मधेसमा जसपाको नेतृत्वमा एमाले र नेकपासमेतको समर्थन नयाँ सरकार गठनको गृहकार्य आन्तरिक रुपमा चलिरहेको छ। तर, कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा जसपामा एकमत देखिएको छैन। जसपाले ठोस निर्णय नगर्दा नयाँ सरकार गठनको विषय अन्योलमा परेको एक नेताले बताए।

मधेसमा जसपा दलकाे नेतामा सरोज यादव छन्। एमालेबाट दलको नेता सरोज यादव राय छन् भने नेकपाबाट युवराज भट्टराई छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?