वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात
५ भदौ, वीरगञ्ज ।
मुलुुकको प्रमुख नाका वीरगञ्जबाट विदेशमा कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गरिने छुर्पीको निर्यात ह्वात्तै बढेको छ । वीरगञ्ज नाका हुदैं गत आर्थिक वर्ष २०८१|८२ मा मात्रै १ अर्ब २० करोड रुपियाँ मूल्य बराबरको ६ सय ८० मेट्रिक टन छुर्पी तेस्रो मुलुकहरूमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०|८१ मा भने वीरगञ्ज नाका हुँदै ६८ करोड रुपैयाँ मूल्य बराबरको ३ सय ७५ मेट्रिक टनमात्रै छुर्पी तेस्रो मुलुकहरूमा निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७९|८० मा भने वीरगञ्ज नाका हुँदै २६ करोड ६३ लाख रुपै्रयाँ मूल्य बराबरको २ सय ६८ मेट्रिक टन छुर्पी विदेशमा निर्यात भएको थियो ।
वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१|८२ मा अघिल्लो आर्थिक वर्ष २०८०|८१ को भन्दा ७६ प्रतिशतले बढी अर्थात् ५२ करोड बढी मूल्यको छुर्पी विदेशमा निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालको इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायतका पहाडी जिल्लाहरूमा उत्पादित छुर्पी वीरगञ्ज नाकाबाट विदेशमा निकासी हुने गरेको वीरगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी अमित तिवारीले जानकारी दिनुभयो । नेपालमा उत्पादित छुर्पी अमेरिका, अस्ट्रेलिया, क्यानडा,ब्राजिल, चीन, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, ग्रिस, बलायत, इटाली, न्युजिल्यान्ड, नेदरल्यान्ड, जापानलगायत २७ वटा मुलुकमा निर्यात हुने गरेको छ ।
त्यसमा पनि सबै भन्दा बढी निर्यात अमेरिकामा हुने गरेको तिवारीले बताउनुभयो । तेस्रो मुलुकहरूमा घरपालुवा कुकुर र बिरालोले नेपाली छुर्पीको स्वाद रुचाएपछि नेपालबाट छुर्पीको माग बढ्दै गएको हो । भन्सार बिन्दुबाट छुर्पी ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा विदेशमा निकासी हुन्छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी तिवारीले विदेशमा घरमा कुकुर र बिरालो पाल्नेहरूले नेपाली छुर्पीलाई मासुको विकल्पको रूपमा प्रयोग गर्ने गरेको छ । उनका अनुसार, चौपायाको हड्डी भन्दा छुर्पी नरम हुने तथा कुकुर र बिरालोले स्वादिलो मानेर खाने गरेकाले नेपाली छुर्पीको माग तेस्रो मुलुकमा बढ्दै गएको हो ।
यसैबीच वीरगञ्ज भन्सार कार्यालयले चालूू आर्थिक वर्षको पहिलो साउन महिनामा १८ अर्ब ३९ करोड ६७ लाख रुपियाँ राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व संकलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । कार्यालयका अनुसार चालू आवको साउन महिनाको मासिक लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको छ ।
भन्सार विभागले कार्यालयलाई साउन महिनामा २० अर्ब ९८ करोड २१ करोड रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवको साउन महिनामा भने १५ अर्ब ९२ करोड रुपियाँ राजस्व संकलन गरेको थियो । विभागले कार्यालयका लागि वार्षिक २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।
Post Comment