वर्तमान सरकार ‘छापा-मार’ जस्तो देखियो, मिडिया विरोधी कदम धेरै टिक्दैन : ओली
सारांश
- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी प्रस्तुत भएको आरोप लगाएका छन् ।
- नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई ‘छापा-मार’ को संज्ञा दिए ।
- ‘मैले देख्दा त अहिलेको सरकार ‘छापा-मार’ सरकार जस्तो देखिन्छ ।
२८ भदौ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी प्रस्तुत भएको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई ‘छापा-मार’ को संज्ञा दिए । ‘मैले देख्दा त अहिलेको सरकार ‘छापा-मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन- छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,’ ओलीले भने ।

सञ्चार जगतले लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए । उनले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताए । इतिहास सुनाउँदै अध्यक्ष ओलीले भने, ‘१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो । त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।’ आन्दोलनरत पत्रकारहरूलाई हरेस नखान आग्रह गर्दै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितांश स्मरण गराए- नलडी कोही हुन्न विजेता । उनले थपे, ‘तपाईँहरूले सम्झौता गर्नुभयो वा पछि हट्नुभयो भने अधिकार पाइँदैन । त्यसैले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस् ।’

आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे । उनले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्ताबेज भएकाले डिजिटल युगमा पनि यसको महत्त्व कहिल्यै नघट्ने बताए । कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पार्टीका प्रमुख सचेतक तथा सांसदहरूको समेत उपस्थिति रहेको थियो। अध्यक्ष ओलीले संसद् बैठक सुरु हुनेबित्तिकै सञ्चार जगतका यी समस्या र लोककल्याणकारी विज्ञापनको विषयलाई पार्टीका तर्फबाट जोडदार रूपमा उठाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
प्रतिक्रिया