अमरेशलाई आचार्य श्रीनिवासको आरोप : तपाईँ रास्वपा भाँड्न आउनुभएको ‘स्वाँठ’ हो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
१०९ पटक हेरिएको
Shares
अमरेशलाई आचार्य श्रीनिवासको आरोप : तपाईँ रास्वपा भाँड्न आउनुभएको ‘स्वाँठ’ हो

सारांश

  • आफूलाई विवादित भनिएकोमा आचार्य श्रीनिवासले आपत्ति जनाएका छन् ।
  • आफूलाई कुन कारणले विवादित भनिएको हो र आफूले के अपराध गरेको हो भन्ने उनले प्रश्न गरे ।
  • आज आयोजित एक कार्यक्रममा बोल्दै उनले अदालतबाट सफाइ पाइसकेको विषयमा आफूलाई सधैँ अपमानित गरिरहनुपर्ने अवस्था नरहेको बताए ।

काठमाडौँ ।

आफूलाई विवादित भनिएकोमा आचार्य श्रीनिवासले आपत्ति जनाएका छन् । आफूलाई कुन कारणले विवादित भनिएको हो र आफूले के अपराध गरेको हो भन्ने उनले प्रश्न गरे । आज आयोजित एक कार्यक्रममा बोल्दै उनले अदालतबाट सफाइ पाइसकेको विषयमा आफूलाई सधैँ अपमानित गरिरहनुपर्ने अवस्था नरहेको बताए । उनले सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीति गर्नेहरू जनताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गरे । ‘राजनीति गर्नेले भाग्न पाउने अवस्था रहने छैन, सुध्रनुस्,’ उनले भने । जेनजी शहीदहरूको आत्माको शान्तिको कामना गर्दै आयोजित सहिद दिवस कार्यक्रममा धर्मगुरुहरू जेनजीकै अनुरोधमा सहभागी भएको उनको दाबी थियो । जेनजी आन्दोलनका मृतकहरूको आत्माले शान्ति पाओस् भन्ने उद्देश्यले आफूहरू कार्यक्रममा पुगेको उनले बताए ।

‘हामीलाई सरकारले नभई जेनजी परिवारले कार्यक्रममा आमन्त्रण गरेको हो,’ उनले भने, ‘मलाई जन्म दिने आमाको कसम मलाई विवादित भनिरहे म भाषण मात्रै हैन शासनमा पनि आउने छु ।’

जेनजी दिवसको कार्यक्रममा सबै व्यवस्थापन धर्म गुरुहरुले गरिदिएको उनले खुलाए । उनी भन्छन्, ‘जेनजीको कार्यक्रममा के देन थियो श्रीनिवासको भन्नुहुन्छ, ‘त्यो दिनको त्यहाँ गृहमन्त्री बस्नुहुने, त्यो टेन्ट, पन्डाल, साउण्ड सिस्टम, त्यहाँको दिनभरिको खर्च, भोलिपल्ट २४ गतेको लागि पनि त्यो मञ्च र त्यो पन्डाल र त्यो साउण्ड सिस्टम, त्यो सारा खर्च ६-७ लाखको त्यो हामी गुरुहरूले गर्दिएको थियौँ । शहीद परिवारसँग नहुँदाखेरि उहाँहरूसँग गएर बुझ्दा ‘के सहयोग गरौँ हजुरहरूलाई ?’ भन्दा ‘हामीलाई यो दिनका लागि टेन्ट, पन्डाल र साउन्डको हामीलाई व्यवस्था भैदिए हुन्थ्यो गुरु’ भन्नुभयो । ठीक छ, हामी दान गर्छौँ, सहयोग गर्छौँ’ भनेर हामीले आएर सहयोग गरेको हो ।’

आफू धर्मको नाममा ‘लिने’ नभएर ‘दिने’ गुरु भएको उनले बताए । ‘यति सम्झिनुस्, श्रीनिवास आजसम्म धर्मको नाममा दिने गुरु हो । मैले लिएको कुनै प्रमाण मलाई देखाउनुस् । मैले आजसम्म कसैलाई ठगेको प्रमाण देखाउनुस् । मैले आजसम्म कसैको चेलिबेटीमाथि कुनै गलत दृष्टिले हेरेको कुनै कर्म देखाउनुस् । होइन भने मलाई किन विवादित भन्नुहुन्छ ? ममाथि गोली प्रहार पनि हुने, म अन्यायमा पनि पर्ने, राज्यले मलाई अदालतबाट सफाइ पनि दिने, फेरि अनि विवादित पनि भनिने ? मैले कसको के बिगार्दिएँ ?’

‘तपाईं नेताहरूले बनाउनेभन्दा बेसी सामाजिक सेवा त हामीले गर्‍या छौँ । मैले लगभग दुई-अढाई सयवटा महायज्ञ गरेँ। कति ठाउँमा विद्यालय बनाएँ, कति ठाउँमा क्याम्पस बनाएँ, कति ठाउँमा एम्बुलेन्स किनेँ, कति ठाउँमा खानेपानी बनाएँ, कति ठाउँमा सामाजिक सेवा मठमन्दिर, धर्मशाला र वृद्धाश्रम बनाएँ, त्यसको म रेकर्ड दिनसक्छु । जुन तपाईंका नेताहरूले जीवनमा गर्न सक्नुभएको छैन त्यत्रो सामाजिक सेवा ।’

‘श्रीनिवास त्यस्तो दान मागेर, भीख मागेर हिँड्ने साधु, गुरु होइन । मैले पनि बच्चा पालेको छु, मेरो पनि आश्रममा विद्यालय छ, मेरो पनि मठमन्दिर छ । तर म गाईको फारम खोलेर गाईको दूध बेचेर विद्यार्थी पढाउने गुरु हो । म भिक्षा मागेर, भीख मागेर हिँड्ने गुरु होइन । म इलम गरेर, मेहनत गरेर गाईको गौशालामा गाईको गोबर सोरेर गाईको दूध बिक्री गरेर डेरीमा मेरो आश्रममा विद्यार्थीहरू पढाउने गुरु हुँ म। मलाई विवादित के मा… के मा भन्नुहुन्छ ?

यो निधारको तिलक, यो भेषभुषा र अनि यो धर्मको कारणले र म राजावादी गुरु भएको कारणले गर्दा मलाई विरोध गर्छन् । हो, म असली एउटा राजालाई समर्थन गर्ने र राजालाई अभिभावक मान्ने म गुरु हो । र म पनि यो देशको नागरिक हो, मैले पनि बोल्न पाउनुपर्छ, मेरो पनि अधिकार हो ।

अमरेशमाथि प्रहारः तपाई रास्वपा फुटाउन आउनुभएको ‘स्वाँठ’ हो
आचार्य श्रीनिवासले संसदमा आफूमाथि प्रश्न उठाउने रास्वपा सांसद अमरेश कुमारलाई कडा प्रहार गरेका छन् । अमरेश रास्वपा फुटाउन आएको उनले आरोप लगाए ।

‘तपाईं यो रास्वपालाई भाँड्न आउनुभएको हो । तपाईं यो रास्वपालाई फुटाउन आउनुभएको हो । तपाईं यो दुई तिहाइको सरकारलाई बिगार्न आउनुभएको हो,’ उनले भने, ‘तपाईं नैतिकता नभएको नेता हो । तपाईं नाङ्गिएको, लज्जास्पद नेता हो । किनभने, तपाईं हिजो चेलिबेटीको अगाडि पनि अन्डरवेयर मात्रै लगाएर नाङ्गिएको मान्छे हो संसद भवनभित्र । तपाईं जस्तो नाङ्गिने संस्कार हामी धर्मगुरुहरूमा छैन ।’

अमरेशबारे आचार्य श्रीनिवासको थप टिप्पणी :
अमरेशजी, तपाईंले एउटा तराईको नेता, तपाईं त जनकपुरको मिथिला नगरीको ठाउँको, मैले त धार्मिक नेता मान्थेँ । तर तपाईं स्वाँठ हुनुहुँदो रहेछ । आगामी चुनावमा तपाईंले हेर्नुस्, कुनै पनि हिन्दुबाट भोट पाउनुभयो तराईबाट भने, म त्यतिखेर तपाईंको अगाडि उभिनेछु । हाम्रो संस्कार भनेको धर्मगुरुलाई अगाडि लाउने, मन्त्री-सन्त्री जोसुकै हुन् फन्त्रीहरू, उहाँहरूलाई पछाडि लगाउने- त्यो हाम्रो धर्मको सिद्धान्त हो ।

यो नेपाल वैदिक भूमि हो र आउने दिनमा पनि हामी हिन्दु, मुस्लिम, क्रिश्चियन, इसाई सबै मिलेर श्रद्धाञ्जली दिएर अनि त्यो हामी धर्मको अनुष्ठान सुरु गर्छौँ । यो देशमा हामी धर्मयुद्ध हुन दिँदैनौँ ।

क्रान्तिशिखालाई भने : चाउचाउको कुपन
सामाजिक सञ्जालमा आफूविरुद्ध टिप्पणी गरेकी रास्वपा सचेतक क्रान्तिशिखा धिताललाई पनि श्रीनिवासले बाँकी राखेनन् ।
उनले भने, ‘एकजना माननीय धितालजीले पनि भन्नुभारैछ । म उहाँलाई के भन्न चाहन्छु भने-‘तपाईं त चाउचाउको पोकामा चिट्ठा पर्या जस्तो, घण्टी छापको र बालेनजीको ह्विममा तपाईंहरू चुनाव जितेर आउनुभयो । तपाईंहरू सांसद को उठ्या भन्ने पनि जनतालाई थाहा थिएन हिजो । तपाईंहरू एउटा चिट्ठा परेर आएको सांसदले विवादित गुरु भन्न हामीलाई सुहाउँदैन ।
तपाईंहरूले के गर्नुभो देशका लागि ? हामीले त हस्पिटल बनाएका छौँ । हामीले एम्बुलेन्स किनेका छौँ । हामीले विद्यालय बनाएका छौँ । हामीले कलेज बनाएका छौँ । हामीले खानेपानीको ट्याङ्की बनाइदिएका छौँ । सामाजिक सेवा गरेका छौँ । विद्यालयलाई उच्च माध्यमिकमा पुर्‍याउनका लागि सप्ताह लगाएर सात दिनसम्म गला सुकाएर आफ्नो देन दिएका छौँ ।आजसम्म कुनै ठाउँमा धर्मको नाममा, भागवतको नाममा, यज्ञको नाममा दुई पैसा कसैलाई ठगेर हिँड्या छैनौँ । दसौँ लाख, पाँचौँ लाख, बिसौँ लाखको भागवत हामीले गरेर हिँड्या छैनौँ । अघोषित श्रीमती हामीले राखेर हिँड्या छैनौँ । हामी के को विवादित ?’

‘गृहमन्त्री सुधन गुरुङको फ्यान भएँ’
श्रीनिवासले गृहमन्त्री सुधन गुरुङको भने उच्च प्रशंशा गरे । विगतमा उनको विरोध गरेको भए तापनि उनको कार्यशैलीबाट प्रभावित बनेको श्रीनिवासको भनाइ थियो ।

उनले भने-हिजो विरोध गरेका श्रीनिवास आज सुदन गुरुङसँगै एउटै ठाउँमा बत्ती बाल्न किन गए भन्ने पनि प्रश्न छ । सुधन गुरुङजीको हामीले पनि विरोध गर्‍याैँ हिजो चुनावभन्दा अगाडि । तर चुनाव भएपछि जनताले नै विश्वास गरेर त्यत्रो अभिमत दिएर पठाएको व्यक्ति गृहमन्त्री भएर उनले एउटा धार्मिक द्वन्द्व तराईमा भइराख्दाखेरि धार्मिक गुरुहरूलाई, प्रत्येक धर्मका गुरुहरूलाई- क्रिश्चियन, इसाई, मुस्लिम, हिन्दु धर्म सबै, बौद्ध गुरुहरू सबलाई बोलाएर एउटै टेबलमा राखे । यो देशमा कसरी शान्ति गर्न सकिन्छ, कसरी यो धर्मयुद्धलाई रोक्न सकिन्छ भनेर वार्ता गर्ने गृहमन्त्री नेपालमा पहिलोचोटि हामीले भेटाएको हुनाले म उहाँको फ्यान भएँ ।’

सायद पहिलो गृहमन्त्री होला जो जन-जनमा गएर, ठाउँ-ठाउँमा गएर, रातदिन नभनी, १०-५ को ड्युटी नभनी खटेर लाग्ने । एउटा युवा जुझारु गृहमन्त्री देखेको हुनाले मैले उहाँलाई भनेँ- तपाईंलाई त हामीले विगतमा गाली गर्थ्यौँ गृहमन्त्रीजी, तर तपाईंको कार्य हेर्दाखेरि आज भनाइमा र गराइमा धेरै फरक हुँदो रहेछ, हामी तपाईंको कामलाई स्यालुट गर्छौँ भनेर हामी गृहमन्त्रीलाई यो भन्न पनि गएका थियौँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?