यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी यू-१९ प्रिमियर कपको उपाधि
काठमाडौं। एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ । मंगलबार भएको फाइनलमा यूएईलाई डकवर्थ लुईस पद्धतिको आधारमा २० रनले हराउँदै नेपालले उपाधि जितेको हो । यूएईले भने गत वर्षको हारको बदला लिने लक्ष्य पूरा गर्न सकेन । ऊ गत फागुनमा नेपालसँग हार बेहोर्दै यू–१९ विश्वकपमा छनोट हुन वञ्चित भएको थियो ।
यसपटक फाइनलमा डिएलए मेथडअनुसार यूएईले २७ ओभरमा १ सय ९८ रन बनाउनुपर्ने थियो । तर, ऊ २६.५ ओभरमा १७८ रनमा अलआउट भयो । उसका लागि ध्रुव पराशरले ५९, कप्तान आयान अफजल खानले ३०, आर्यंश शर्माले ३२, यिन किरण राईले १७ र इथान डिसुजाले १३ रन बनाए ।
नेपालका लागि आकाश त्रिपाठीले चार, सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८० रन बनायो । नेपालका लागि देव खनालले सर्वाधिक १ सय रनको पारी खेले । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे ।
देवले अर्जुन कुमालसँग तेस्रो विकेटका लागि १ सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । त्यस्तै, उत्तम थापा मगरले ५७ रन जोडे । अर्जुन कुमालले ५५ रनको इनिङ खेले । दीपक डुम्रेले २८, दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसीले तीन रन बनाए ।
यूएईका लागि हरित शेठ्ठीले पाँच, कप्तान आयन खानले दुई र अम्मर बदानीले एक विकेट लिए । नेपालले समूह चरणमा इरानविरुद्ध २७४ रन, बहराइनविरुद्ध ७ विकेट र साउदी अरेबियाविरुद्ध ३०२ रनको जित निकालेको थियो ।
यस्तै, यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट र कतारलाई १० विकेटले हराएको थियो । यसपटक एसिसी प्रिमियर कपबाट नेपाल, यूएई र जापान यू–१९ एसिया कपमा छनोट भएका छन् । एसिया कप आउँदो डिसेम्बरमा हुनेछ ।