त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
४ चैत, काठमाडौँ ।
नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको छ । सोमबार सो सङ्गठनले क्याम्पसमा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी संघबाट टिकट नपाएपछि स्वतन्त्र विद्यार्थी युनियनमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले त्रिचन्द्र बहुमुखी क्याम्पसको मूल गेटमै ताला लगाइदिएका छन् । तालासँगै टाँसिएको पर्चामा भनिएको छ, ‘हाम्रो जायज माग पूरा नभएसम्म क्याम्पस प्रमुख र निर्वाचन समितिका पदाधिकारीहरूलाई क्याम्पस प्रवेश निषेध गरिएको छ ।’
तालाबन्दीका कारण कर्मचारी प्रशासनको कामसमेत प्रभावित भएको छ । पर्चामा सभापति पदका उम्मेदवार विवेक बानियाँ र श्रीधर श्रेष्ठको हस्ताक्षर छ । यी दुवै उम्मेदवारले मनोनयनका क्रममा नेविसंघबाट उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचन समितिले गोविन्द कोइरालालाई आधिकारिकता दिएपछि उनीहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सोही समूहले त्रिचन्द्रमा तालाबन्दी गरेका हो । नेविसंघले क्याम्पसमा तालाबन्दी गरेसँगै अनेरास्ववियुले भने त्यसको विरोधमा प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठनको विवादले तालाबन्दी भएपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ‘ताला संघ चुनाव हुन देऊ’ भन्दै त्रिचन्द्रमा प्रदर्शन गरेको हो ।
Post Comment