३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
२९ माघ, काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो । १४ माघसम्म ३:१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो ।
अहिले समय थप गरी ४:१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत एक करोड ५२ लाख राजस्व संकलन भएको छ । ९ मंसिरदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट २४ माघसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको निर्देशक अर्यालले बताए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिए ।
पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार शुल्क लिने गरिएको अर्यालले बताए । उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत ६ मंसिरको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
Post Comment