दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
३२ जेठ, हेटौंडा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताएका छन् ।
हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको जलविद्युत्को सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको उनको भनाइ थियो ।
‘केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने छ ।’
वर्षायाममा ६ महिना छिमेकी देश भारतर्फ विद्युत् निर्यात भइरहेको उनले बताए । यस्तै, प्रधानमन्त्री प्रचण्डले अझै पनि केही वर्ष हिउँद याममा देखिने आन्तरिक विद्युत् उत्पादन र मागबीचको आपूर्ति असन्तुलनको खाडल पूरा गर्न विद्युत् आयात गर्नु परेको बताए ।
Post Comment