संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
८ जेठ, काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणका विषयमा गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक शुरू भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा कार्य दलको बैठक शुरू भएको हो । यसअघि सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन । गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो । त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।
संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएका छैनन् ।
Post Comment