राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
५ जेठ, काठमाडौँ । राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्तिले वैकल्पिक सत्ताको अभ्यास गर्ने भएको छ ।
बहुल राष्ट्र निर्माणको माग गर्दै आन्दोलन थालेको अभियानले विभिन्न राज्यको स्थापना गर्दै स्वशासनसहितको आफ्नै विधान घोषणा समेत गर्ने बताइएको छ । अभियानले असार ४ गते नेवा: राष्ट्रको सत्ता दाबी गर्ने कार्यक्रम राखेको हो । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाका अनुसार त्यस्तो राष्ट्र निर्माणको दाबी नेवा: राज्यबाट सुरु गर्ने र त्यसपछि अन्य राष्ट्रहरूको पनि घोषणा हुनेछ । अभियानले नेवा: राष्ट्रिय परिषद्, चौवाङ राष्ट्रिय परिषद्, मगर राष्ट्रिय परिषद्, लिम्बुवान राष्ट्रिय परिषद्, चेपाङ राष्ट्रिय परिषद् गरी हाल १२ वटा परिषद् गठन गरेको छ । यस्ता ५० वटा परिषद् बनाउने तयारी रहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताए । परिषद्हरू सबैले आ–आफ्नो सत्ता आफै सञ्चालन गर्नेछन् । तिनीहरूका आफ्नै विधान र संरचना हुनेछन् ।
जसअनुसार जेठ २१ थरुहट र मगरातको सामुदायिक गुठी विशेष बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा दाङमा आयोजना हुनेछ । त्यस्तै जेठ २६ गते विराटनगरमा कोशी नाम खारेजी तथा राज्य पुनर्संरचना विरुद्ध वृहत् प्रदर्शनी तथा आमसभा, जेठ २९ गते बाग्लुङको बुर्तिवाङमा ढोरपाटन सिकार आरक्षणविरुद्ध बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा हुनेछ भने असार १ गते मधेसी पहाडी बृहत् एकता प्रदर्शनी तथा आमसभा सर्लाहीमा गर्ने भएको छ । असार ४ गते काठमाडौँमा नेवा: राष्ट्रको अऔपनिवेशिक सत्ता दाबी तथा स्वशासन विधान घोषणा कार्यक्रमको आयोजना गरिनेछ । त्यसबाहेक विभिन्न ठाउँमा प्रत्येक दिन अन्तरक्रिया कार्यक्रमदेखि लिएर प्रशिक्षण तथा संवाद कार्यक्रम आयोजना गर्ने बताइएको छ ।
Post Comment