सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी
सारांश
- रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् ।
- वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।
- आजको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले भने, ‘रद्द भयो भने त यो मधेश आन्दोलित हुने बाहेक अर्को कुनै उपाय नै हुँदैन ।
८ मंसिर, काठमाडौं ।
रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।
आजको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले भने, ‘रद्द भयो भने त यो मधेश आन्दोलित हुने बाहेक अर्को कुनै उपाय नै हुँदैन ।’
सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेशका लागि महत्वपूर्ण परियोजना भएको भन्दै यसको काम रोकिँदा प्रदेशका कृषक तथा नागरिक निराश भएको बताए । उनले आयोजना अघि बढाउने स्पष्ट कार्ययोजना, काम रोकिएको कारण र आगामी बाटोबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

करिब ६ वर्षअघि सुरु भएको आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखे पनि हाल यसको ठेक्का रद्द गरिएको छ । आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत रहेको उल्लेख गर्दै झाले यसलाई राष्ट्रिय गौरवको बहुउद्देश्यीय परियोजनाका रूपमा अघि बढाइएको बताए ।
आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ बैशाख २६ गते भए पनि त्यसपछि काम अघि नबढेको भन्दै उनले प्रश्न उठाए । ‘ब्रेक थ्रु भइसकेको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि काम अगाडि बढेको छैन । यो नबढ्नुको कारण के हो, बन्द हुने स्थिति के हो र आगामी वे फरवार्ड के हो ? यी तीनवटा कुरामा थप स्पष्टता भइदिए राम्रो हुन्थ्यो,’ उनले भने ।
मधेशमा कृषि नै प्रमुख आर्थिक स्रोत रहेको उल्लेख गर्दै झाले सिँचाइका आयोजना अन्योलमा रहँदा कृषि उत्पादन र क्षेत्रको भविष्य प्रभावित हुने बताए । ‘मधेशसँग देखाउनलाई हिमाल छैन, उत्पादन गर्न हाइड्रो पनि छैन । भएकै एउटा खेती छ, त्यसमा पनि तपाईंहरू यस्तो अल्झाएर राख्नुहुन्छ,’ उनले भने ।

सुनकोशी–मरिण डाइभर्सनले मधेशमा बढ्दो मरुभूमीकरण रोक्न र पानीको उपलब्धता बढाउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा नागरिकले राखेको भन्दै उनले आयोजना अघि बढाउन अनावश्यक ढिलाइ नगर्न आग्रह गरे ।
आयोजना अघि बढाउने स्पष्ट योजना भए सांसदहरूले संसद् तथा विभिन्न निकायमा आवाज उठाएर काम अघि बढाउन दबाब दिन सक्ने भन्दै झाले सम्बन्धित निकायसँग थप जानकारी र समाधानको बाटो प्रस्तुत गर्न माग गरे ।
टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।
उजुरी प्राप्त भएपछि समितिले आजको बैठकमा छलफल थालेको हो । छलफलमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया लगायत उपस्थित छन् । रजौरियाले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया