शैक्षिक सुधारको माग गर्दै विद्यार्थी आन्दोलित
सारांश
- शिक्षक अभाव, नियमित पठनपाठनको व्यवस्था तथा विद्यालयको शैक्षिक व्यवस्थापन सुधारको माग गर्दै सर्लाहीको श्री मदनपुर–जमुनिया–बिनगरा माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।
- विद्यालयमा लामो समयदेखि आवश्यक संख्यामा शिक्षक नभएको र त्यसका कारण पठनपाठन प्रभावित हुँदै आएको भन्दै विद्यार्थीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए।
- माग सम्बोधन नभएको भन्दै उनीहरूले बुधबार आन्दोलन गर्दै केही समय नवलपुर–मलङवा सडकसमेत अवरुद्ध गरेका हुन्।
२१ असोज, सर्लाही। शिक्षक अभाव, नियमित पठनपाठनको व्यवस्था तथा विद्यालयको शैक्षिक व्यवस्थापन सुधारको माग गर्दै सर्लाहीको श्री मदनपुर–जमुनिया–बिनगरा माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।
विद्यालयमा लामो समयदेखि आवश्यक संख्यामा शिक्षक नभएको र त्यसका कारण पठनपाठन प्रभावित हुँदै आएको भन्दै विद्यार्थीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए। माग सम्बोधन नभएको भन्दै उनीहरूले बुधबार आन्दोलन गर्दै केही समय नवलपुर–मलङवा सडकसमेत अवरुद्ध गरेका हुन्।
विद्यार्थीहरूले विद्यालयमा आवश्यक शिक्षकको तत्काल व्यवस्था गर्नुपर्ने, नियमित पठनपाठन सञ्चालन गर्नुपर्ने, विगत सात महिनादेखि रोकिएको दिवा खाजा पुनः सञ्चालन गर्नुपर्ने तथा विद्यालयको शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने माग अघि सारेका छन्।
त्यस्तै, विद्यालयको समग्र सुधार, पारदर्शी व्यवस्थापन र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्न स्थानीय सरकारसँग विद्यार्थीहरूले आग्रह गरेका छन्।
यसअघि पनि नगरपालिकाको शैक्षिक सुधारका लागि पटक–पटक आवाज उठाउँदै आएका स्थानीय युवा सुबास यादव र राजु यादव समेत विद्यार्थीको आन्दोलनमा सहभागी भएका छन्।
स्थानीय युवा राजु यादवका अनुसार विद्यालयको समस्याबारे पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि आवश्यक चासो नदेखाइएपछि विद्यार्थीलाई पैदल हिँडाएर नगरपालिका कार्यालयसम्म ल्याइएको हो।
उनले भने, “हामीले यस विषयमा पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदै आएका छौँ। तर, कुनै चासो नदेखाएपछि विद्यार्थीलाई पैदल विद्यालयबाट नगरपालिका कार्यालयसम्म ल्याएका हौँ। हाम्रो मुख्य माग विद्यालयमा आवश्यक शिक्षकको व्यवस्था, नियमित पठनपाठन, विगत सात महिनादेखि रोकिएको दिवा खाजा सञ्चालन र शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउनु हो।”
यस्तै, स्थानीय युवा सुबोधका अनुसार विद्यालयमा रहेका कम्प्युटरलगायतका शैक्षिक सामग्री लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन्। उपलब्ध स्रोतसाधनको उचित प्रयोग हुन नसक्दा विद्यार्थीले त्यसको प्रत्यक्ष लाभ लिन नसकेको उनको आरोप छ।
विद्यार्थीको आन्दोलनपछि विद्यालयको शैक्षिक अवस्था, शिक्षक अभाव, दिवा खाजा तथा उपलब्ध शैक्षिक सामग्रीको प्रयोगबारे स्थानीय तहले आवश्यक छलफल गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने माग उठेको छ।
प्रतिक्रिया