आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
१२१ पटक हेरिएको
Shares
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत

सारांश

  • भारतीय संगीत जगतमा ठूलो दुःखको खबर आएको छ, दिग्गज गायिका आशा भोसले अब यस संसारमा रहिनन् ।
  • ९२ वर्षको उमेरमा उनले अन्तिम सास लिइन् ।
  • उनी हामीबीच नभए पनि उनका सदाबहार गीतहरूले उनलाई सधैं जीवित राख्ने छन् ।

 

२९ चैत, काठमाडौं ।

भारतीय संगीत जगतमा ठूलो दुःखको खबर आएको छ, दिग्गज गायिका आशा भोसले अब यस संसारमा रहिनन् । ९२ वर्षको उमेरमा उनले अन्तिम सास लिइन् । उनी हामीबीच नभए पनि उनका सदाबहार गीतहरूले उनलाई सधैं जीवित राख्ने छन् । ८ सेप्टेम्बर १९३३ मा आशा भोसलेको जन्म संगीतसँग जोडिएको परिवारमा भएको थियो । उनका बुवा पण्डित दीनानाथ मंगेशकर अभिनेता तथा शास्त्रीय गायक थिए ।

उनी स्वरकोकिला लता मंगेशकरकी सानी बहिनी थिइन् । आशा नौ वर्षकी हुँदा उनका बुवाको निधन भयो। त्यसपछि परिवार पुणेबाट कोल्हापुर र पछि मुम्बई सरेको थियो । ठूलो दीदीको पाइला पछ्याउँदै उनले पनि संगीत क्षेत्रमा प्रवेश गरिन् । परिवार चलाउन दुवै दिदिबहिनीले फिल्ममा गीत गाउन थाले । आशाले पहिलो गीत मराठी फिल्म ‘माझा बाल’ (१९४३) मा गाइन् । हिन्दी फिल्ममा उनको पहिलो गीत ‘चुनरिया’ (१९४८) को ‘सावन आया’ थियो । यहीँबाट सुरु भएको यात्रा पाँच दशकभन्दा बढी समयसम्म चल्यो । १९४० को दशकको अन्त्य र १९५० को सुरुवातमा गीता दत्त, शमशाद बेगम र लता मंगेशकर जस्ता स्थापित गायिकाहरूबीच उनले आफ्नो स्थान बनाइन् । सुरुका दिनमा उनले धेरै कम बजेटका फिल्महरूमा गीत गाइन्।

सज्जाद हुसैनको संगीतमा बनेको फिल्म ‘संगदिल’ (१९५२) ले उनलाई चिनायो । त्यही वर्ष उनले ‘छम छमा छम’ मा अभिनय पनि गरिन् र ११ मध्ये १० गीत गाइन् । त्यसपछि बिमल रोयले उनलाई ‘परिणीता’ (१९५३) मा अवसर दिए । राज कपूरले ‘बूट पॉलिश’ (१९५४) का सबै गीत गाउन लगाएका थिए, जसले उनलाई लोकप्रियता दिलायो । करियर सुरु हुँदै गर्दा १६ वर्षको उमेरमै उनले बहिनी लता मंगेशकरका सेक्रेटरी गणपत राव भोसलेसँग विवाह गरिन्, जो उनीभन्दा करिब २० वर्ष जेठा थिए । यो विवाह परिवारले स्वीकारेन, जसका कारण दुवै बहिनीबीच दूरी आयो । पति पक्षको परिवार रूढिवादी थियो र गायिकालाई स्वीकार्न सकेन । गर्भवती हुँदा उनलाई माइत फर्किन भनियो। यो विवाह लामो समय टिकेन र ११ वर्षपछि उनीहरू छुट्टिए । यस विवाहबाट उनका तीन सन्तान भए । पहिलो विवाहपछि उनको जीवनमा फेरि प्रेम आयो। उनले संगीतकार आरडी बर्मनसँग विवाह गरिन्, जो उनीभन्दा ६ वर्ष कान्छा थिए। सुरुमा आरडी बर्मनकी आमाले यो सम्बन्ध अस्वीकार गरिन्। तर अन्ततः १९८० मा उनीहरूको विवाह भयो । आशा भोसलेको करियर पाँच दशकभन्दा लामो रह्यो ।

उनले विभिन्न युगका दिग्गज  संगीतकारहरूसँग काम गरिन्, जस्तै— शंकर-जयकिशन, खैय्याम, रवि, सचिन देव बर्मन, आरडी बर्मन, ओपी नैय्यर, इलैयाराजा, बप्पी लहरी र ए.आर. रहमान । उनले फिल्म मात्र होइन, एल्बम र एकल गीतहरू पनि गाइन् । सबैभन्दा उल्लेखनीय कुरा — उनले २० भन्दा बढी भारतीय र विदेशी भाषामा गीत गाइन् । सन् २००६ मा उनले आफैं करिब १२ हजार गीत गाएको बताएकी थिइन् । उनी ‘ग्रामी अवार्ड’का लागि नामांकन पाउने पहिलो भारतीय गायिका पनि थिइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?