सेनाले ४३ जिल्लामा पुर्यायो निर्वाचन सामग्री
१० फागुन,काठमाडौं ।
देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको बताए । ‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् । बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन्,’ सहायक रथी बस्नेतले भने ।

उनका अनुसार १२ जिल्लाहरुमा अहिले निर्वाचन सामग्रीहरू लाने क्रम भइरहेको छ । त्यसपछि बाँकी रहेका २२ जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पुग्नेछन् । तीन हिमाली जिल्लामा भने सेनाले हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गरेको छ । जसमा अहिलेसम्म हुम्ला, मुगु र डोल्पामा हवाई साधनमार्फत निर्वाचन सामग्री लगिएको सैनिक प्रवक्ता बस्नेतले बताए । डोल्पामा आज आइतबार मात्रै नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री लगिएको छ । नेपाली सेनाको स्काई ट्रकबाट मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्रीहरु डोल्पा पुगेका हुन् । अब मनाङ र मुस्ताङमा पनि हवाई साधानमार्फत निर्वाचन सामग्री लैजाने सेनाको तयारी छ ।




Post Comment