२६ भाद्र २०८२, बिहीबार

टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित

४ भदौ, काठमाडौं ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो । रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए । जे लेमिरले १८ तथा ह्‍यारी डिक्सनले १६ रन बनाए । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १-१ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाए । लोकेश बमले १६ बलमा २४ रन बनाए । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए । रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिए ।

नेपाल हालसम्म खेलेका ५ खेलमध्ये सुरुवाती ३ खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार २ जित निकालेको हो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment