सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
९ साउन, महोत्तरी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गर्नुभएको छ । शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने बताउनु भयो । उहाँले पानीको अभावका कारण मधेस सुख्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको बताउनु भयो ।
सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरु शुरु गरिसकेको बताउनु भयो । चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको बताउनु भयो । सरकारको तर्फबाट मधेसमा पानीको समस्या समाधान गर्न सबै सरकारी निकाय, गैरसरकारी निकायहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मधेस सुख्खाग्रस्त छ । पानीको अभावको कारणले सुख्खाग्रस्त भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेका छौँ । संकटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायहरुबाट काम गर्नेछौँ ।
चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकुल वातावरणतर्फ फर्काउने काम गर्दछौँ । तत्कालका लागि अरु विभिन्न काम अघि बढाउनेछौँ । अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरुलाई आग्रह गर्दछु । गैरसरकारी संघसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु । हामी अहिले तत्काल केही डिप बोरिङहरु जडान गर्ने र डिप बोरिङमार्फत तत्कालका लागि ५ सय जति डिप बोरिङ गर्नेछौँ । एउटाले लगभग ६० बिघा जमिन सिंचाई गर्न सकिन्छ ।’प्रधानमन्त्री ओलीले ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
Post Comment