प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
२८ जेठ, काठमाडौं ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विरुद्ध दायर गरेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले असार ८ गते सुनुवाइको मिति तोक्दै अग्राधिकार प्रदान गरेको छ । गत आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्रीसहित चार मन्त्रीलाई पदमुक्त गरी भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गर्न मागसहितको सर्वोच्चमा रिट दायर भएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र वनमन्त्री ऐनबहादुर शाही ठकुरीविरुद्ध रिट दायर गरेका थिए । आगामी आवको बजेटमा खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासी गर्न निजी क्षेत्रलाई सहभागी गराइने व्यवस्था गरिएको छ । बजेटको ८७ नम्बर बुँदामा गरिएको यस्तो व्यवस्थाले अदालतको अवहेलना गरेको दाबी रिटमा गरिएको छ ।
Post Comment