अघि बढ्यो भ्रष्टाचार विधेयक, छुट्यो अख्तियार
५ फागुन, काठमाडौं । प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक अघि बढाउँदैछ । तर, भ्रष्टाचार विधेयकसँगै दर्ता भएर अगाडि बढेको अख्तियार ऐन संशोधन विधेयक भने संसदीय समितिमै छुटेको छ । दुवै विधेयक २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसबेला प्रधानमन्धी थिए ।
ओलीले ल्याएका दुवै विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । त्यसपछि प्रतिनिधि सभामा आउँदा पनि दुवै विधेयक एकसाथ अगाडि बढाइएको थियो । तर, पछिल्लो समयमा भ्रष्टाचार विधेयक अगाडि बढ्दा अख्तियार ऐन संशोधन विधेयक छुटेको हो । राष्ट्रिय सभाबाट पारित भएर आएको दुवै विधेयकमाथि प्रतिनिधिसभामा २०८० साल भदौ ३१ गते ले सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफल पछि सभाले दुवै विधेयकमाथि दफावार छलफल गर्नका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो ।
राज्य व्यवस्था समितिले दुवै विधेयकमाथि छलफल एकसाथ अगाडि बढाएको थियो । राज्य व्यवस्था समितिले संसदीय उपसमिति बनाएर छलफल चलाएको थियो । तर, राजय व्यवस्था समितिले नै भ्रष्टाचार विधेयक पारित गरेर अख्तियार विधेयक थाँती राखेको हो । २०८१ साल पुस १८ गते राज्य व्यवस्था समितिले भ्रष्टाचारसम्बन्धी विधेयक पारित गरेको थियो । तर, अख्तियार ऐन संशोधन विधेयक अगाडि बढाएन । त्यसयता, पनि समितिमा अख्तियार विधेयकमाथि छलफल हुन सकिरहेको छैन ।
राज्य व्यवस्था समितिले पास गरेर अगाडि बढाएको भ्रष्टाचार विधेयक सोमबार प्रतिनधि सभाबाट पारित नै गर्ने कार्यसूची छ । तर, अख्तियार ऐन संशोधन विधेयक भने राजय व्यवस्था समितिको प्राथमिकतामा पर्न सकेको छैन । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा प्रतिनिधि सभाको चालू अधिवेशनमै अख्तियार ऐन संशोधन विधेयक पनि अगाडि बढ्ने बताउँछन् ।
गत माघ ३० गते समितिको बैठकमा माओवादी केन्द्रका सांसद हितराज पाण्डे र कांग्रेसका सांसद हृदयराम थानीले अख्तियार ऐन संशोधन विधेयक किन अगाडि नबढेको भनेर सोधेका थिए । जवाफमा समिति सभापति खतिवडाले अगाडि बढाइने प्रतिबद्धता जनाएका थिए । सभापति खतिवडाले भनेका थिए, ‘अख्तियार ऐन संशोधन विधेयक यही अधिवेशनमा हाउसमा जान्छ । माननीयज्युहरू ढुक्क हुनुहोला ।’
Post Comment