१३ श्रावण २०८२, सोमबार

हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिँदै

 

१ फागुन,  हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई आज(बिहीबार।) एक समारोहबीच बालमैत्री पालिका घोषणा गरिँदै छ । उपमहानगरपालिकाको ५६ औं स्थापना दिवसको अवसरमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागेको बताइन् । ४३ वटा सूचकको लक्ष्य शतप्रतिशत पूरा भएको र ४ सूचकमा ९९ प्रतिशतभन्दा बढी नतिजा हासिल भएको छ । ३ वटा सूचकमा ९० प्रतिशतभन्दा बढी र एउटा सूचकमा ८८ प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री घोषणा गर्न लागिएका मेयर लामाले जानकारी दिइन् । २०७९ सालको घरधुरी तथ्यांक संकलन सर्वेक्षणअनुसार हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका ५० हजार एक सय ९५ बालबालिका छन् ।

२६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । कुल बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेका छन् । उपमहानगरपालिकामा टोलस्तरीय २ सय ६५ र विद्यालयस्तरीय १ सय ६ वटा गरी ३ सय ७१ वटा बाल समूह छन् भने १९ वडास्तरीय र एउटा नगरस्तरीय गरी २० वटा बाल सञ्जाल छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित निकृष्ट बालश्रममुक्त, बालविबाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागेको हो । यसअघि १९ वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेको छ ।

वडाहरु बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएसँगै उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागिएको हो । मकवानपुरको १० पालिकामध्ये यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । हेटौंडा उपमहानगर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणासँगै मकवानपुरको चौथो बालमैत्री स्थानीय शासनयुक्त पालिका हुनेछ । बालमैत्री घोषणाका लागि २०७९ साल भदौ ५ गतेबाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र विविध बालमैत्री कार्यक्रमहरु सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?