सर्लाहीमा चोरीको गरगहनासहित चार जना पक्राउ
सारांश
- राजीव यादव सर्लाहीको गोडैता नगरपालिकामा घरबाट गरगहना चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेकाहरूको साथबाट सुन तथा चाँदीजस्ता देखिने विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
- प्रहरीका अनुसार गत असोज १३ गते गोडैता नगरपालिका–७ मा स्थानीय नरेश मिश्रको दुईतले पक्की घरमा चोरी भएको सूचना प्राप्त भएको थियो।
२० असोज, सर्लाही । राजीव यादव
सर्लाहीको गोडैता नगरपालिकामा घरबाट गरगहना चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट सुन तथा चाँदीजस्ता देखिने विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार गत असोज १३ गते गोडैता नगरपालिका–७ मा स्थानीय नरेश मिश्रको दुईतले पक्की घरमा चोरी भएको सूचना प्राप्त भएको थियो। सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा घरको भित्री भागमा प्रवेश गरी बक्स तथा दराजमा राखिएका गरगहना चोरी भएको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिई उनीहरूको साथबाट चोरी भएका गरगहनासहितका सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरामद गरिएका सामानमा चाँदीजस्तो देखिने पायल दुई थान, सुनजस्तो देखिने झुम्का चार थान, सुनजस्तो देखिने औँठी एक थान, चाँदीजस्तो देखिने ठेसा दुई थान, लक्ष्मीको फोटो भएको सिक्का एक थान, हनुमानको आकृति भएको गरगहना एक थान र पहेँलो रङको सुनजस्तो देखिने लेडिज औँठी एक थान छन्।
प्रहरीले बरामद गरिएका सामान चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनामा पक्राउ परेका व्यक्तिहरूको संलग्नता र चोरीका अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया