हेटौंडा उपमहानगरपालिका कार्यालयलाई पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल बाहिरको र नगर क्षेत्रभित्र रहेका अन्य संरचना हटाउन पत्राचार गरिसकिएको डिभिजन प्रमुख अधिकारीले बताए । सडक डिभिजन कार्यालयको पत्राचारपछि हेटौंडा वितरण केन्द्र, नेपाल विद्युत प्राधिकरण हेटौंडाले सडक सीमाभित्र निर्मित संरचनामा रहेका विद्युतको मिटर बक्सलगायत विद्युतीय उपकरणहरूको व्यवस्थापन तथा स्थानान्तरण गर्न सार्वजनिक सूचना जारी गरेको छ । सडक डिभिजन हेटौंडाले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारका लागि स्थायी तथा अस्थायी संरचना हटाउन गत ५ मंसिरमै १५ दिनको अल्टिमेटम दिइसकेको छ । आगामी १९ मंसिरसम्म सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउने समयसीमा तोकिएको हो ।

रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरू हटाउन भनेको हो । २० मंसिरदेखि हेटौंडाको मुख्य बजार क्षेत्रभित्र पर्ने दुई राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको नेतृत्वमा गठित टास्क फोर्स टिमले बिहीबारदेखि रातोमाटे क्षेत्रबाट सडक सीमा क्षेत्रको नक्शांकन गरिरहेको छ । नक्शांकनको क्रममा स्थानीयबाट सामान्य केही अवरोधहरू भएको डिभिजन प्रमुख अधिकारीले बताए । टास्क फोर्स टिममा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण लगायत सम्बन्धित निकायका प्रतिनिधि सदस्य छन् ।



प्रतिक्रिया