जेन-जी आन्दोलन : ढल्यो तीन प्रहरी परिवारको सहारा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जेन-जी आन्दोलन : ढल्यो तीन प्रहरी परिवारको सहारा

सारांश

  • प्रहरी सहायक निरीक्षक (असई) मिलन राय २४ भदौ मध्याह्न न्युरो अस्पताल गए ।
  • प्रहरी वृत्त महाराजगञ्जमा क्राइम सिन अफिसर (सोको) का रूपमा कार्यरत राय एक व्यक्तिको मृत्यु भएको खबर आएपछि मुचुल्का गर्ने सहायक लिएर न्युरो अस्पताल पुगेका थिए ।
  • सहायकले मुचुल्काको काम गरे ।

३० भदौ, काठमाडौं ।

प्रहरी सहायक निरीक्षक (असई) मिलन राय २४ भदौ मध्याह्न न्युरो अस्पताल गए । प्रहरी वृत्त महाराजगञ्जमा क्राइम सिन अफिसर (सोको) का रूपमा कार्यरत राय एक व्यक्तिको मृत्यु भएको खबर आएपछि मुचुल्का गर्ने सहायक लिएर न्युरो अस्पताल पुगेका थिए । सहायकले मुचुल्काको काम गरे । रायले क्राइन सिनको काम गरे । काम सकेर उनी कार्यालय फर्किए । त्यतिन्जेलसम्म महाराजगञ्ज वृत्त वरपर ठूलो मात्रामा जेन-जी प्रदर्शनकारीको भिड जम्मा भइसकेको थियो ।

प्रधानमन्त्रीदेखि प्रहरीविरुद्धसमेत नाजाबाजी गर्दै सडकमा तोडफोड भइरहेको थियो । असई राय कार्यालय छिरे । र, ग्राउन्ड फ्लोरकै बाहिरतर्फको कुर्सीमा बसे । उग्र बनेका प्रदर्शनकारीले सरकारी तथा प्रहरीका भवनमा तोडफोड र आगजनी गर्न थाले । प्रहरी नै असुरक्षित हुने अवस्था आएकाले हिरासतमा रहेका थुनुवा छाड्दै आफू सुरक्षित हुन काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्कुलर जारी गर्‍यो । प्रदर्शन चर्किएर प्रहरी केन्द्रित हुन थालेपछि महाराजगञ्ज वृत्तले पनि आफ्नो हिरासतमा रहेका थुनुवा छाड्यो । यतिन्जेलसम्म असई राय सुरक्षित थिए । सोको अफिसर सिभिल पोशाकमै हुने भएकाले उनलाई प्रदर्शनकारीले प्रहरी भनेर चिनेका थिएनन् । तर, जब हिरासतमा रहेका थुनुवा छाडियो, त्यसपछि भने राय आक्रमणको निशानामा परे । ‘यो पनि प्रहरी हो’ भन्दै उनीमाथि आक्रमण भयो । थुनुवा नछोड्दासम्म प्रदर्शनकारीले उनलाई प्रहरी हो भनेर नचिन्नु र आक्रमण नगर्नु तर थुनुवालाई छाड्ने बित्तिकै आक्रमण हुनुले धेरै आशंका जन्माएको प्रहरीको बुझाइ छ । घटनालाई प्रत्यक्ष नियालेका एक प्रहरी अधिकृत भन्छन्, ‘थुनुवाबाटै राय प्रहरी हो भन्ने खबर फैलिएको हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’

सादा पोशाकमा रहेका असई रायमाथि त्यसपछि अन्धाधुन्दा आक्रमण भयो । खुकुरीले टाउकामै प्रहार भयो । भाँटाले हानियो । अनुहार चिन्न नसक्ने गरी रगताम्मे भयो । हत्या गरिसक्दा पनि भिड रोकिएन । शव घिसार्दै सडकमा ल्याइयो । शवमाथि नै पिसाब फेर्नेसम्मको घृणित काम भयो । असई रायको हत्या गरिसकेपछि पनि किन यस्तो घृणित काम भयो भन्नेबारे प्रहरी अधिकारीहरू नै अचम्मित छन् । राय यसअघि पक्राउ परेका अभियुक्त वा आपराधिक पृष्ठभूमिका व्यक्तिको निशानामा परेका हुन् कि भन्ने आशंका प्रहरी अधिकारीहरूको छ । प्रहरीको काम नै अपराधीलाई कठघरामा ल्याउनु भएकाले कुनै आपराधिक व्यक्तिले प्रतिशोध साँधेर यतिसम्म क्रुर हत्या गरेको हुनसक्ने विश्लेषण प्रहरीहरूले गरिरहेका छन् । राय न्युरो अस्पताल जाँदासम्म अवस्था सामान्य थियो । तर फर्किँदा अवस्था भयावह भइसकेको थियो । उनीसँग सञ्चार सेट नहुने भएकाले पनि घटनाको स्थितिबारे उनी जानकार थिएनन् । नर्मल अवस्था नै सोचेर कार्यालय फर्किए । केहीबेरमै कार्यालयमै ज्यान गुमाए ।

राय २०७४ सालमा असईमा भर्ना भएका व्यक्ति हुन् । रामेछाप दरबन्दी भएका उनी इमान्दार प्रहरी रहेको वृत्त महाराजगञ्जकै निमित्त प्रमुख तथा इन्स्पेक्टर सुदर्शन पन्थी बताउँछन् । ‘मैसँग काम गरेको केटा हो । इमान्दार र मिहिनेती थियो । निर्मम तरिकाले हत्या भयो,’ इन्स्पेक्टर पन्थी भन्छन् । सिन्धुलीको दुधौली नगरपालिका-८ खोरभञ्ज्याङ घर भएका रायले डेढ वर्षकै उमेरमा बुवा गुमाए । ब्लड क्यान्सरका कारण बुवा बितेपछि उनी आमाकै रेखदेखमा हुर्किए । पठनपाठनमा भने काका केशवले सहयोग गरे । गाउँबाटै एसएलसी उत्तीर्ण गरेपछि उनी काठमाडौं आए, प्लस टु पास गरे । त्यसपछि असईमा भर्ना भए । करिब एक वर्षअघि विवाह गरेका रायकी श्रीमती ४ महिनाअघि मात्रै जापान गएकी थिइन् । विभत्स हत्या गरिएका रायको सदगत भइसकेको छ । काका केशवले भतिजको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । भतिजको हत्यारालाई कारबाही नगरेसम्म आफूहरूले न्याय नपाउने पीडित परिवारले बताएका छन् । रायसँगै वृत्त महाराजगञ्जका अर्का प्रहरी पनि जेन-जी आन्दोलनमा मारिए । दार्चुला घर भएका उत्तम थापालाई कुटीकुटी मारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

‘यो डीएसपी हो’ भन्दै कुटीकुटी मारेको भिडियोमा देखिन्छ । तेरो सेकेन्डम्यान (ट्वाइसी, इन्स्पेक्टर) खै भन्दै विभिन्न रूपमा कुटपिट गरेको भिडियोमा देखिन्छ । डीएसपी भन्दै कुटेर रक्ताम्य बनाउँदै मारिएका व्यक्ति भने डीएसपी नभई जवान थापा थिए । उनी पनि सादा पोशाकमै थिए । दार्चुला लेकम गाउँपालिका- ३ गुमाखोलीका थापालाई गोली चलाउन आदेश दिने तैं हैन भन्दै अमानवीय तरिकाले कुटपिट गर्दै हत्या गरियो । उनी विगत ९ वर्षदेखि प्रहरी सेवामा थिए । उनी घरको जेठो सन्तान हुन् । उनका भाइ करिब ७ महिनाअघि मात्रै बितेको परिवारले प्रहरीलाई बताएका छन् । भिरबाट खसेर उनका भाइको मृत्यु भएको थियो । भाइको मृत्यु भएको ७ महिनापछि दाइको विभत्स हत्या भयो । जेन-जी आन्दोलनको अघिल्लो दिन मात्रै २२ भदौमा उनले अब घर आउन ४ दिन बाँकी छ भन्दै युनिर्फमसहित टिकटक भिडिओ बनाएर हालेका थिए । ‘झल्को आउँदा यही फोटो हेरी, जोवन धानी बस है मयाले’ गीतमा आफ्नो युनिफर्मको तस्बिर र श्रीमतीको तस्बिर राख्दै टिकटक बनाएका थिए । अब उनी कहिल्यै नआउने गरी अस्ताए ।

केही समयअघि गौरा पर्वको सन्दर्भमा उनले भाइलाई सम्झिँदै फोटोको क्याप्सनमा लेखेका थिए- मेरो भाइ, तिमी कहाँ छौ ? गौरा आगई । उत्तमले बुवा पहिल्यै गुमाएका थिए । ७ महिनाअघि भाइ गुमाए । अहिले आफैं बिते । सात महिनाको अन्तरमा दुई छोरा र केही समयअघि श्रीमान् गुमाएको पीडाले उत्तमकी आमा बेहोस छिन् । घरको मुख्य सहारा नै उत्तम थिए । उनी बितेसँगै सबै सहारा गुमेको छ । कास्की घर भई प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक हवल्दार अमृत गुरुङको पनि उनीहरू जस्तै विभत्स हत्या भयो । जेन-जी आन्दोलनको इपिसेन्टर नयाँ बानेश्वर नजिकै रहेको कोटेश्वर प्रभाग आन्दोलनकारीको निशानामा पर्‍यो । सुरुमा १५-२० जना आएर प्रहरी कार्यालय अगाडि नारा-जुलुस गर्न थाले । प्रदर्शनकारीको संख्या थपिँदै गयो । त्यसपछि तोडफोड र आगजनी सुरु भयो । चारैतिर आगो दन्किसकेकाले कोटेश्वर प्रभागका प्रहरीले भागेर ज्यान जोगाउनुको विकल्प देखेनन् । उनीहरू कार्यालय छाडेर भागे । लखेट्दै पछाडिबाट हानेको धारिलो हतियारले सहायक हवल्दार गुरुङलाई लाग्यो । भुईंमा ढलेपछि आन्दोलनकारीले कुटीकुटी उनको हत्या गरे ।

आन्दोलनकारीबाट मारिएका गुरुङले ९ महिनाअघि मात्रै आमा गुमाएका थिए । गुरुङका ७ महिनाका एक छोरा, श्रीमती र ६० वर्षका बाबु छन् । उनीहरू कास्कीमै बस्छन् । सबैको सहारा गुरुङ नै थिए । उनी पनि ढलेपछि परिवारको सहारा गुमेको छ । सहायक हवल्दार गुरुङको शव सदगतका लागि परिवारले कास्की लगेको छ । प्रभाग कोटेश्वरमा रहेको ५९ दरबन्दीमध्ये १३ जना प्रहरी घाइते भए । दुईजनाको अवस्था अझै गम्भीर छ । प्रहरीको बर्दी फुकालेर हुलिया बदलेर भागेकाले उनीहरू ज्यान जोगाउन सफल भए । आन्दोलनकारीले प्रभागलाई तोडफोड र आगजनी गरेर तहसनहस बनाए । हतियार लुटे । बर्दी डढाए । अहिले ढडेको कालो भवन बाहेक प्रभागमा केही छैन । तीन प्रहरीले ज्यान गुमाएको प्रभाग कोटेश्वर र वृत्त महाराजञ्जमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीले निरीक्षण गरेकी छिन् । तर प्रहरीलाई के भनिन्, सार्वजनिक भएको छैन । प्रहरीका हत्यारालाई अनुसन्धान गरेर कारबाही नगरी पीडित परिवारले न्याय पाएको महसुस नगर्ने प्रहरी अधिकारीहरू बताउँन् । तीन सहकर्मी आँखै अगाडि विभत्स तरिकाले मारिएपछि प्रहरी त्रसित छ । तीन प्रहरी मारिएको जेन-जी आन्दोलनमा प्रहरीतर्फ ठूलो क्षति भएको छ । भवन जलेर नष्ट भएका छन् । लत्ताकपडा, बन्दोबस्तीका सामान, सवारी साधान जलेका छन्, हतियार लुटिएका छन् । अहिलेसम्म प्रहरीतर्फ कति क्षति भयो भन्ने यकिन विवरण आएको छैन । उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको छ । अन्य ठाउँको विवरण संकलन गर्ने काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरे बताउँछन् । जेन-जी आन्दोलनमा ३ प्रहरीसहित ७२ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ
बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
पोखरामा निषेधाज्ञा र कफ्र्यू हटाइयो
पोखरामा निषेधाज्ञा र कफ्र्यू हटाइयो
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
काठमाडौं महानगरपालिकामा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध
काठमाडौं महानगरपालिकामा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ