कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २८, २०८०
|
|
६४ पटक हेरिएको
Shares
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै

सारांश

  • कर्णालीका जिल्लाहरूमा समाजवादी मोर्चाको गठन गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ ।
  • यसअघि प्रदेशस्तरीय मोर्चाको घोषणा भइसकेको छ ।
  • १४ असोजमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाहरूमा पनि मोर्चाको गठन गर्ने निर्णय गरेको थियो ।

२८ असोज, सुर्खेत । कर्णालीका जिल्लाहरूमा समाजवादी मोर्चाको गठन गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ । यसअघि प्रदेशस्तरीय मोर्चाको घोषणा भइसकेको छ । १४ असोजमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाहरूमा पनि मोर्चाको गठन गर्ने निर्णय गरेको थियो । सोही अनुसार जिल्लाहरूमा पनि ‘समाजवादी मोर्चा’को गठन गर्ने कामहरू भइरहेका हुन् ।

सुर्खेतमा माओवादी केन्द्रका सुर्खेत जिल्ला अध्यक्ष जीतबहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा घोषणा गरिएको छ । मोर्चाको सदस्यहरूमा माओवादी केन्द्रका तर्फबाट टोपबहादुर दर्लामी, नेकपा एकीकृत समाजवादीका तर्फबाट टोपबहादुर रास्कोटी, खड्क केसी, नेकपाका तर्फबाट जीत सी, योजना सी र जसपाका तर्फबाट दीप नेपाली, गङ्गा देवकोटा सदस्य रहेका छन् । कालिकोटमा पनि माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाइँको नेतृत्वमा आठ सदस्यीय समाजवादी मोर्चा गठन गरिएको छ । मोर्चाको अन्य सदस्यमा माओवादी केन्द्रबाट मनशोभा बुढा, एकीकृत समाजवादीबाट चित्रसिं गाउँले र धीर बहादुर विष्ट, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट रमेश सी र बलवान सी, जसपाबाट माधव प्रसाद उपाध्याय र अलि सहकारी रहेका छन् ।

हुम्लामा पनि समाजवादी मोर्चा बनेको छ । अहिलेसम्म ३ बैठक बसिसकेको छ भने सन्देश सभा मङ्सिरमा गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रका नेता डा.दीपेन्द्र रोकायाले बताए । अन्य जिल्लाहरूमा पनि मोर्चा गठनको तयारी भइरहेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । मोर्चामा सामेल भएका दलहरूमध्ये कर्णालीमा माओवादी सबैभन्दा ठुलो दल भएकाले धेरैजसो जिल्लाहरूमा माओवादीकै नेतृत्वमा मोर्चाको गठनका कामहरू भइरहेका छन् ।

किन मोर्चा गठन गर्नुपर्यो ?

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने आफूहरूको मूल उद्देश्य रहेकाले समाजवादी मोर्चा गठन गर्नुपरेको बताए । उनले विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित मोर्चा गठन गरिएको बताए । समाजवादीका केन्द्रीय सदस्य तुलाराज विष्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने आफूहरूको लक्ष्य रहेकोले मोर्चा गठन गरिएको बताए ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संविधानमै समाजवाद उन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस गर्नुपर्ने बताए । ‘नेपाली मौलिकताको समाजवादलाई विकास र स्थापित गरेर मात्र अहिलेको सामाजिक अन्तरविरोधलाई हल गर्न सकिन्छ,’ उनले भने,‘ आर्थिक सम्पन्नता, सामाजिक न्यायलाई एकसाथ बढाउनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?