नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
३१ असार, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् ।
उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, कर्मचारीको आन्दोलनका कारण उनी पदभार ग्रहण कार्यक्रम प्रभावित बनेको छ । धादिङ २ बाट निर्वाचित कांग्रेसका रामनाथ अधिकारी पहिलोपटक मन्त्री बनेका हुन् । तर अधिकारीले सोमबार सहजै मन्त्रालयमा कार्यभार सम्हाल्न पाएनन् । पहिलोपटक मन्त्री बनेका अधिकारीलाई कार्यभार सम्हाल्नै कठिनाइ भएको हो । सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यभार सम्हाल्न जाँदा उनले कर्मचारीको विरोधको सामना गर्नुपर्यो । सेवा सुविधाको माग गर्दै १६ दिनदेखि आन्दोलनमा रहेका कर्मचारीका कारण नवनियुक्त मन्त्रीलाई कार्यभार सम्हाल्न कठिनाइ भएको हो । मन्त्रालयको प्रांगणमै कर्मचारीहरू आफ्ना माग अगाडि सार्दै आन्दोलनमा छन् । यसैले मन्त्रालय पुगेका अधिकारीले आन्दोलनकारी कर्मचारीसँग कुरा गर्दै केही दिनमा समस्या समाधानको पहल गर्ने बताए ।
आन्दोलनरत कर्मचारीको कुरा सुनेपछि उनी मन्त्रीको कार्यकक्षमा नगइ क्यान्टिनमा गएका हुन् । जहाँ पार्टी निकटका नेताहरूसँग उनले छलफल गरेका थिए । अब मन्त्रिपरिषद्को पहिलो बैठकपछि मात्रै अधिकारीले पदभार ग्रहण गर्ने तयारी गरेका छन् । फुल दरबन्दीका ३२८ कर्मचारीलाई स्थायी गर्नुपर्नेसहितका माग कर्मचारीले अगाडि सारेका छन् । कर्मचारीको आन्दोलनपछि अधिकारीले पनि मन्त्रालय प्रवेश गरी जबर्जस्त पदभार ग्रहण गर्न उचित नठानेको उनी निकट स्रोतले जानकारी दियो । ‘उहाँले आन्दोलनरत कर्मचारीहरूसँग कुराकानी गरिसक्नुभएको छ । यसैले पदभार ग्रहणमा केही ढिलाइ भएको हो,’ स्रोतले भन्यो, ‘अब ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकपछि कार्यभार सम्हाल्नुहुन्छ ।’ कर्मचारी आन्दोलनमा छन् भन्ने थाहा पाएरै उनीहरूसँग अधिकारीले कुराकानी गरेका उनी निकट स्रोतले जानकारी दियो ।
Post Comment