सर्लाहीमा वृद्ध दम्पतीमाथि चक्कु प्रहार गर्ने युवक प्रहरी नियन्त्रणमा
सारांश
- सर्लाहीको हरिपूर्वा नगरपालिका–१ बसन्तपुरमा वृद्ध दम्पतीमाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न आरोपित युवक पक्राउ परेका छन्।
- घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
- जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसन्तपुरस्थित मुखिया चोकमा आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका ७४ वर्षीय सुकदेव साह र उनकी ७३ वर्षीया पत्नी जीवसी देवी दुवैमाथि गत कात्तिक २७ गते राति चक्कु प्रहार भएको थियो।
५ मंसिर, सर्लाही ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–१ बसन्तपुरमा वृद्ध दम्पतीमाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न आरोपित युवक पक्राउ परेका छन्। घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसन्तपुरस्थित मुखिया चोकमा आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका ७४ वर्षीय सुकदेव साह र उनकी ७३ वर्षीया पत्नी जीवसी देवी दुवैमाथि गत कात्तिक २७ गते राति चक्कु प्रहार भएको थियो।

राति करिब १० बजे घरभित्र प्रवेश गरेका हरिपूर्वा नगरपालिका–१ बसन्तपुरकै १९ वर्षीय शंकर कुमार यादवले सुतिरहेको अवस्थामा दम्पतीमाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि उनी फरार भएका थिए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोलीले घाइते दम्पतीलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो। उपचारका क्रममा घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले आरोपित यादवलाई कात्तिक २८ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ। उनी लागूऔषध गाँजा सेवनकर्ता रहेको र गाँजा किनबेचको क्रममा विवाद उत्पन्न भएपछि रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। घटनामा संलग्न आरोपितमाथि ज्यान मार्ने उद्योग तथा ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया