गाउँमै आधारभूत अस्पताल, खुसी छन् स्थानीय
सारांश
- ग्रामीण भेगको पालिका भएर पनि सर्लाहीको चन्द्रनगरमा १५ बेडको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको छ ।
- यहाँ पहिले जस्तो स्वास्थ्य चौकीमा औषधि नपाइने अवस्था छैन् ।
- बरु हालका जनप्रतिनिधिले निरन्तर प्रयास गरेर संचालन गरेको आधारभूत अस्पतालमा नियमित ओपिडी सेवा पाउँदा सर्वसाधारणलाई राहत मिलेको छ ।
२१ असार सर्लाही ।
ग्रामीण भेगको पालिका भएर पनि सर्लाहीको चन्द्रनगरमा १५ बेडको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको छ । यहाँ पहिले जस्तो स्वास्थ्य चौकीमा औषधि नपाइने अवस्था छैन् । बरु हालका जनप्रतिनिधिले निरन्तर प्रयास गरेर संचालन गरेको आधारभूत अस्पतालमा नियमित ओपिडी सेवा पाउँदा सर्वसाधारणलाई राहत मिलेको छ । आधारभूत अस्पताल नहुँदा यसअघि यहाँका स्थानीय सामान्य बिरामी पर्दा लालबन्दी, बयलवास, मलंगवा, जनकपुरलगायत ठाउँमा जान बाध्य थिए । अहिले गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकीसँगै १५ बेडको आधारभूत अस्पताल पनि सञ्चालनमा छ । चन्द्रनगर गाउँपालिका २ बबरगन्ज पर्ती बजारमा १५ बेडको अस्पताल भवन लामो समयदेखि अलपत्र थियो । त्यो भवन अहिले सञ्चालनमा ल्याएर स्थानीयलाई चिकित्सकीय सेवा प्रदान भइरहेको हो । गाउँमा स्वास्थ्य उपचार सेवा पाउँदा स्थानीय पनि खुसी देखिन्छन् ।

चन्द्रनगर गाउँपालिका २ बबरगन्जकी चन्द्रेखा माझी मुसहरले गाउँमै १८ बेडको अस्पताल संचालनमा आएपछि निकै सहज भएको बताउँछिन् । अब गर्भवतीलाई सुत्केरी गराउनु पर्दा पनि सामान्य अवस्थामा अन्यत्र लानुपर्ने बाध्यता हटेकोमा उनी हर्षित छिन् । “सामान्य अवस्थाको डेलिभरी यहीँको अस्पतालमा हुँदा हामी गरिब, दलितलाई त साह्रै सहज भयो,” चन्द्रेखाले भनिन्, “अब अस्पतालमा अझै सेवाहरु थप्दै गए हामी झन सजिलो हुन्छ ।” चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सर्वसाधारणको मौलिक हक अन्तर्गत पर्ने स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै आधारभूत अस्पतालमा अस्पतालमा मेडिकल अफिसर नियुक्त गरेर ओपिडी सेवासहित अन्य सेवा प्रदान गरिएको हो । सामान्य स्वास्थ्य उपचार लिनसमेत बयलवास, लालबन्दी वा सदरमुकाम मलंगवा धाउन बाध्य स्थानीय गाउँमा लामो समयदेखि अलपत्र रहेको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष महतोले बताए ।

“तत्काल एक जना मेडिकल अधिकृत राखेर ओपिडी सेवा सुरु गरिएको र साप्ताहिक रुपमा विशेषज्ञ चिकित्सक राखेर सेवा प्रदान गर्ने उद्देश्य छ, उनले भने, हाम्रो यो प्रयासले स्थानीयले सहज उपचार सेवा पाउने अवस्था आउँछ भन्ने विश्वास छ ।” गाउँपालिका अध्यक्ष महतोले अब पहिले जस्तो स्वास्थ्य चौकीहरुमा औषधि नहुने र गाउँपालिकाभित्र चिकित्सक नै नहुने अवस्थाको अन्त्य भएको बताएका छन् । फागुन २९, २०८२ देखि सञ्चालनमा आएको उक्त अस्पतालमा डा. आलोक मिश्रा (एमबीबीएस, चितवन मेडिकल कलेज, भरतपुर) को नेतृत्वमा स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारी, विषयगत प्राविधिक, प्रशासनिक कर्मचारी, सरसफाइकर्मी तथा एम्बुलेन्स चालकसहितको टोलीले सेवा प्रदान गरिरहेका छन् ।
गाउँपालिकाका अनुसार नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको १५ बेडको आधारभूत अस्पताल सञ्चालन कार्यविधि तथा मापदण्डअनुसार अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ । यस अस्पतालमार्फत स्थानीय बासिन्दालाई प्राथमिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । अस्पतालमा चाँडै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने तथा अस्पतालकै आफ्नै सशुल्क फार्मेसीमार्फत सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने योजना रहेको छ । त्यसैगरी अस्पतालमा सकेसम्म छिटो स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पनि राखिएको गाउँपालिकाले जानकारी दिएको छ । अस्पताल सञ्चालनमा आएपछि चन्द्रनगर गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दाले आधारभूत स्वास्थ्य सेवा स्थानीय स्तरमै प्राप्त गर्ने अपेक्षा पुरा हुँदै गएको गाउँपालिका अध्यक्ष महतोले बताए ।


प्रतिक्रिया