ड्रोन आक्रमणबाट नेपालीको मृत्युपछि कुवेतमा त्रस्त नेपाली समुदाय
सारांश
- कुवेतमा इरानबाट भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास फैलिएको छ ।
- सीमावर्ती क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका कारण कुवेत सरकारले सतर्कता अपनाउन आग्रह गर्दै विभिन्न सुरक्षा उपाय लागु गरेको छ ।
- ३० जुलाई २०२६ बिहान इराकसँग जोडिएको कुवेतको सीमावर्ती क्षेत्र थाक्सीमा भएको ड्रोन आक्रमणमा मोरङ रतुवामाई नगरपालिका–९ का ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको थियो ।
१७ साउन, काठमाडौं ।
कुवेतमा इरानबाट भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास फैलिएको छ । सीमावर्ती क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका कारण कुवेत सरकारले सतर्कता अपनाउन आग्रह गर्दै विभिन्न सुरक्षा उपाय लागु गरेको छ । ३० जुलाई २०२६ बिहान इराकसँग जोडिएको कुवेतको सीमावर्ती क्षेत्र थाक्सीमा भएको ड्रोन आक्रमणमा मोरङ रतुवामाई नगरपालिका–९ का ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको थियो । उनी सन् २०२२ देखि वैदेशिक रोजगारीका लागि कुवेतमा रहँदै कम्पनीको गाडी चालकका रूपमा कार्यरत थिए ।

जानकारी अनुसार आक्रमणका बेला तामाङ कम्पनीको गाडीमै थिए । इरानबाट प्रहार भएको ड्रोन गाडीमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना कुवेत सिटीबाट करिब ९० किलोमिटर टाढा इराक सीमाक्षेत्र नजिक भएको बताइएको छ । कुवेतस्थित एनआरएनए अध्यक्ष दिलकुमार पाख्रिनका अनुसार घटनापछि त्यहाँ रहेका नेपाली निकै चिन्तित र त्रसित छन् । उनका अनुसार विगतमा ड्रोन वा मिसाइलको सम्भावित जोखिम हुँदा साइरन बजाउने र मोबाइलमा एसएमएस मार्फत पूर्वसूचना दिने व्यवस्था थियो । तर, पछिल्लो समय त्यस्ता सूचना प्रणालीले मानिसमा थप आतंक सिर्जना गरेको भन्दै साइरन बजाउन र एसएमएस पठाउन रोकिएको छ ।

पाख्रिनका अनुसार कुवेत सरकारले रातिको समयमा अस्पताल, होटल तथा अन्य सार्वजनिक स्थलमा आवश्यक बाहेकका बाहिरी बत्ती नबाल्न निर्देशन दिएको छ । तेल, ग्यास तथा इरानको सम्भावित निशानामा पर्ने क्षेत्रमा कार्यरत कर्मचारीलाई ‘वर्क फ्रम होम’ व्यवस्था गरिएको छ भने अन्य क्षेत्रका कामदार नियमित काममा गइरहेका छन् । यद्यपि, कहिले र कहाँबाट आक्रमण हुन्छ भन्ने चिन्ताले धेरैलाई सताइरहेको उनले बताए ।bउनका अनुसार कुवेत सरकारले नागरिकलाई अनावश्यक घर बाहिर ननिस्किन, आधिकारिक सूचनामात्र विश्वास गर्न र अफवाह नफैलाउन आग्रह गरेको छ । अत्यावश्यक सामग्री अनावश्यक सञ्चय नगर्न पनि निर्देशन दिइएको छ । एक पटकमा पाँच कार्टुनभन्दा बढी पानी खरिद गर्नसमेत रोक लगाइएको उनले जानकारी दिए ।पाख्रिनका अनुसार पछिल्ला आक्रमणमा कुवेत र जोर्डनलाई विशेष रूपमा लक्षित गरिएको देखिन्छ । इरानतर्फ स्थलमार्गबाट पुग्न सकिने भएकाले यी क्षेत्रलाई बढी संवेदनशील मानिएको उनको भनाइ छ ।

आक्रमण क्रममा कुवेतको पानी तथा विद्युत् पूर्वाधार पनि प्रभावित भएको भए पनि वैकल्पिक प्रणाली मार्फत सेवा सञ्चालन भइरहेको उनले बताए ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी जनार्दन गौतमले ड्रोन आक्रमणमा मृत्यु भएका तामाङको शव नेपाल पठाइसकिएको जानकारी दिए । उनका अनुसार शवसँगै आवश्यक कानुनी कागजात पठाइएको छ ।
कुवेतमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि त्यहाँ रहेका नेपालीलाई दूतावास र कुवेत सरकारका आधिकारिक सूचना पालना गर्न तथा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया