११ श्रावण २०८२, शनिबार

लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित

१५ चैत, बुटवल । लुम्बिनी विकास कोषको हाताभित्र बनाइएका बिहारहरूमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाममा गरिँदै आएका होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै यहाँका व्यवसायीहरूले आन्दोलन शुरू गरेका छन् ।

लुम्बिनी होटल संघ नेपालले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरूमा पर्यटक राख्ने व्यवस्था अविलम्ब रोक लगाउन माग गर्दै लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन शुरू गरेको हो । संघले ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलन थालेको अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । आन्दोलन कार्यक्रमअन्तर्गत आजदेखि शुरू भएको अनिश्चितकालीन धर्ना माग पूरा नभएसम्म जारी रहने उनले बताए । लुम्बिनी विकास कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने उनको भनाइ छ ।

सयौं कोठाहरू पर्यटक राख्ने गरी बिहारहरू बनाइएको तथा बिहार र गुम्बा भनिने ठाउँहरू बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना नभई व्यापारको थलो बनेको उनको भनाइ छ । समस्या समाधानको माग गर्दै गत फागुन २९ गते ७ दिनको समय दिएर ज्ञापनपत्र बुझाइएकोमा अघिल्ला वर्षहरू जस्तै बिहारहरूलाई एक एक थान पत्र बुझाउनुबाहेक कुनै ठोस कदम नचालिएको ज्ञवालीले बताए । संघका महासचिव पुरुषोत्तम अर्यालले नियमविपरीत बिहारमा होटल व्यवसाय सञ्चालन गरेको कार्यविरुद्ध १२ वर्षदेखि आफूहरू लड्दै आएको र हालसम्म मागको सुनुवाइ नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?