८ चैत्र २०८२, आईतवार

नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

८ चैत,जुम्ला ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान नगरेको भन्दै आक्रोशित यात्रुहरूले आइतबार जुम्लास्थित निगमको कार्यालयमा तालाबन्दी गरेका छन् । फागुन २४ गतेदेखि जहाजले उडान नगरेपछि आजित भएका सर्वसाधारण र यात्रुहरूले कार्यालयमा ताला लगाएका हुन् । नेपाल एयरलाइन्सले अन्य जिल्लाहरूमा नियमित उडान भरिरहेको भए पनि जुम्लामा भने बारम्बार हुन्छ भन्दै झुक्याउने गरेको यात्रुहरूको आरोप छ ।

आइतबार उडान हुने जानकारी पाएर विमानस्थल पुगेका यात्रुहरू अन्तिम समयमा उडान रद्द भएको सूचना पाएपछि आन्दोलित भएका हुन् । उडान नहुँदा सबैभन्दा बढी मर्कामा बिरामीहरू परेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि बाहिर रेफर गरिएका गम्भीर बिरामीहरू जहाज कुरेर छटपटाइरहँदा पनि निगमले उडानमा संवेदनशीलता नदेखाएको यात्रुहरूको गुनासो छ । ‘अन्य जिल्लामा उडान भइरहेको छ, तर जुम्लामा सधैँ प्राविधिक कारण देखाएर उडान रद्द गरिन्छ,’ एक आक्रोशित यात्रुले भने, ‘बिरामीको ज्यान जोखिममा छ, यस्तो अवस्थामा पनि सरकारी जहाजले जिम्मेवारी पुरा नगरेपछि हामी तालाबन्दी गर्न बाध्य भयौँ ।

लामो समयदेखि सरकारी जहाजले उडान नभर्दा जुम्लावासीले सास्ती खेप्नुपरेको छ । निगमले तत्काल नियमित उडानको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने यात्रुहरूले चेतावनी दिएका छन् ।

Previous post

पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग

Next post

राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल

Post Comment

छुटाउनुभयो कि ?