२३ माघ २०८२, बिहीबार

सर्लाहीमा गाँजा सहितको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

सर्लाहीको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा सहित भारतीय गाडी बरामद गरेको छ। आइतबार बिहान करिब ३ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले ८० किलो ९ सय ग्राम गाँजा सहितको भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको हो।

सीमा सुरक्षा गुल्म मलंगवा बाट डिएसपी लिला बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले बलरा नगरपालिका–३ लक्ष्मीपुर क्षेत्रमा शंकास्पद गाडीलाई पछ्याएको थियो। वीआर ३३ पीए ३७०१ नम्बरको उक्त भारतीय गाडी प्रहरी देख्नासाथ भाग्ने क्रममा बिजुलीको पोलमा ठोक्किएको र चालक फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडीको विस्तृत जाँच गर्दा फल्स बटन बनाएर लुकाइ राखिएको अवस्थामा ८० किलो ९ सय ग्राम लागुऔषध गाँजा फेला परेको हो। बरामद गरिएको गाँजा र गाडीलाई नियन्त्रणमा लिएर सीमा सुरक्षा गुल्म मलंगवामा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गाँजा सहितको गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बुझाउने तयारी रहेको सशस्त्र प्रहरीले जानकारी दिए।

Post Comment

छुटाउनुभयो कि ?