भरततालमा चौथोपटक बृहत् सोनाम ल्होछार मेला हुँदै
सर्गलाहीको बागमती नगरपालिकास्थित भरतताल (पर्यटकीय माछा पोखरी) क्षेत्रमा चौथोपटक बृहत् सोनाम ल्होछार मेला आयोजना हुने भएको छ।
नेपाल तामाङ घेदुङ बागमती नगर कार्यसमितिले बुधबार पत्रकार सम्मेलनमार्फत माघ ६ गते भरततालमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ। घेदुङका अनुसार चालु ‘सा पुख्रि÷डुल ल्हो’ (सर्प वर्ग) लाई बिदाइ गर्दै आउँदो माघ ५ गते पर्ने २८६२ ‘ता ल्हो’ (घोडा वर्ग) लाई स्वागत गर्ने अवसरमा सोनाम ल्होछार विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो।
घेदुङ नगर समितिका सचिव चन्द्रबहादुर जिम्बा तामाङका अनुसार माघ ५ गते तामाङ समुदायले घर–परिवार तथा समुदायस्तरमा ल्होछार मनाउने र त्यसको भोलिपल्ट माघ ६ गते मंगलबार भरततालमा बृहत् सांस्कृतिक मेला आयोजना गरिनेछ।
बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारसँगै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा तामाङ समुदायको मौलिक नृत्य, गीत–संगीत, जातीय परिकार, भेषभूषा प्रदर्शनी तथा तामाङ संस्कार–संस्कृतिसँग सम्बन्धित विभिन्न स्टलहरू राखिनेछन्।
कार्यक्रम संयोजक सञ्जय ब्लोनका अनुसार फुलकुमार बोम्जन, विशाल काल्तान, सुमिना लो, रेश्मा बोम्जन, उर्गेन दोङलगायत गायक–गायिकाको प्रस्तुति रहनेछ भने मोडल याङ्गी दोङ, रिया लामा लगायत कलाकारहरूको पनि सहभागिता रहनेछ।
घेदुङ बागमती नगर कार्यसमितिका अध्यक्ष रोशन लामाका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब ११ लाख १५ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ। कलाकार व्यवस्थापनदेखि सम्पूर्ण खर्च घेदुङले नै व्यहोर्ने जनाएको छ।
आयोजकका अनुसार मेलाले तामाङ समुदायको मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्नुका साथै भरतताल क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।




Post Comment