महामन्त्री थापाको प्रतिवेदनअनुसार सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता नवीकरण हुन सकेको छैन । यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा पनि नवीकरणमा समस्या देखिएको छ । महामन्त्री थापाले प्रतिवेदनमा डडेल्धुरा र सुर्खेत-२ मा क्रियाशील सदस्यता नवीकरण हुन नसकेको कारण भने खुलाएका छैनन् । ‘केही जिल्लामा विभिन्न कारणले नवीकरणमा समस्या उत्पन्न भएको छ,’ उनले प्रतिवेदनमा लेखेका छन् । प्रतिवेदनअनुसार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको गृहजिल्ला नुवाकोट र निवर्तमान गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र कञ्चनपुर-३ मा पनि नवीकरणमा समस्या देखिएको छ । निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जिल्ला कैलालीका १, २ र ४, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको जिल्ला रुपन्देही-४, सहमहामन्त्री उमाकान्त चौधरीको जिल्ला बारा-१ र २, पूर्वउपसभापति विमलेन्द्र निधिको जिल्ला धनुषा-३ र ४ मा पनि समस्या रहेको महामन्त्रीको प्रतिवेदनले देखाउँछ ।
प्रतिवेदनअनुसार सहमहामन्त्री किशोरसिंह राठोरको निर्वाचन क्षेत्र बाँके-३, पूर्वमन्त्री मोहन बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकसँगै मुस्ताङ, सप्तरी र सिरहा-३ मा पनि क्रियाशील सदस्यता नवीकरणमा समस्या छ । महामन्त्री थापाले सभापति रिक्त रहेका कारण खोटाङ र सर्लाहीमा पनि सदस्यता नवीकरणमा समस्या उत्पन्न भएको प्रतिवेदनमा उल्लेख गरेका छन् । देशभरका ६ हजार ७४३ वडामध्ये २६८ वडामा विभिन्न कारणले नवीकरण बाँकी रहेको महामन्त्री थापाको भनाइ छ । उनले बाँकी रहेका वडामध्ये २२७ वडाहरू नवीकरणको प्रक्रियामा रहेका पनि केन्द्रीय कार्यसमितिलाई जानकारी गराएका छन् । बारा १ र २ तथा रूपन्देही-४ को मर्चवारी गाउँपालिका–४ सहित ३ वटै निर्वाचन क्षेत्र ४१ वटा वडामा नवीकरणको काम सुरु हुन नसकेको महामन्त्री थापको भनाइ छ । महाधिवेशन समयमा हुँदैन भन्ने भाष्यका कारण नवीकरण विवरण बुझाउन ढिलाइ भए पनि महाधिवेशनको कार्यतालिका टुङ्गिएको एक सातामै नवीकरणको काम सम्पन्न हुने उनको दाबी छ ।

महामन्त्री थापाले नयाँ क्रियाशील सदस्यताका लागि दुई लाख १७ हजार ९०१ थान नयाँ फारमहरू २०८० मै जिल्लाहरूमा पठाइसकेको पनि थापाले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘नयाँ सदस्यता वितरण खुला र सहज बनाउने, नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्न चाहने मापदण्ड पुगेका नेपाली नागरिकलाई सहज ढङ्गले क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था गरौँ,’ थापाको प्रस्ताव छ । नयाँ क्रियाशील सदस्यता वितरणका लागि देशभरका वडाबाट फारम भर्ने र प्रतिनिधिसभा क्षेत्रबाट सदस्यता प्रदान गर्ने गरी कात्तिक २१ देखि मंसिर १० सम्म समय प्रदान गर्न सकिने महामन्त्रीको भनाइ छ । यसका लागि सबै वडा र क्षेत्रमा छुट्टै आईडी पासवर्ड उपलब्ध गराउने गरी सिस्टम तयारी अवस्थामा छ,’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘यसले जेनजीलगायत नयाँ पुस्ताका साथीहरूलाई सदस्यता प्रदान गर्न सहज बाटो खुल्छ ।’
क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रियामा पहिलेको भन्दा अनुकूल अवस्थामा पार्टी रहेको भन्दै उनले महाधिवशेनको कार्यतालिका टुंग्याएर एकबद्ध भई अधिवेशन प्रक्रियामा होमिएको अवस्थामा सदस्यताको काम दुई हप्तामा गर्न सकिने दाबी प्रतिवेदनमा गरेका छन् ।
परम्परा तोड्दा पनि समस्या
कांग्रेसले यसअघि महाधिवेशनको वर्ष कार्यतालिका तोकिएपछि मात्रै क्रियाशील सदस्यता वितरण र नवीकरणको अभ्यास गर्दै आएको थियो । तर १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको २०७८ चैतमा सम्पन्न बैठकले सदस्यता वितरण र नवीकरण विधानबमोजिम निरन्तर गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय कार्यसमितिको निर्णयअनुसार दुई वर्ष अगाडि (२०८० सालमा) नै सदस्यता नवीकरणका लागि ८ लाख ७० हजार ८८४ सदस्यता जिल्लाहरूमा पठाएको थियो । पटकपटक परिपत्र गर्दा पनि सदस्यता नवीकरण नभएपछि २०८१ माघमा कांग्रेसले नवीकरण कार्यतालिका नै बनाएर जिल्ला पठाएको थियो । कार्यतालिका अनुसार २०८१ चैत्रसम्म क्रियाशील सदस्यता नवीकरण सम्पन्न भइसक्नुपर्ने थियो । तर, कार्यकर्ताहरूले नवीकरणमा चासो देखाएनन् । क्रियाशील सदस्यता नवीकरणको काम अपेक्षाअनुसार नभएपछि कांग्रेसले पटक-पटक मातहतका तहलाई परिपत्र गरेको थियो ।
महामन्त्री थापाले यसबीचमा आफ्नो संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले ६ पटक ताकेता गरेको र पछिल्लो पटक बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तिम पटक २०८२ असोज मसान्तसम्म नवीकरणका लागि समय थप्ने निर्णय गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
Post Comment