एमालेको सचिवालय बैठक बस्दै
१५ कात्तिक, काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजे बस्नेछ । आज बस्ने सचिवालय बैठकले महाधिवेशनको तयारी र जनचालनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘एमाले अब महाधिवेशनमा होमिएको छ । यो सचिवालय बैठकले गर्ने मुख्य एजेण्डा महाधिवेशनको क्यालेण्डर निर्माण हो,’ उनले भने ।
असोज अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले २७/२९ मंसिरमा एघारौँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । उक्त महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोटको मिति, अनुपात, संख्या र आधारबारे यो सचिवालय बैठकले निर्णय गर्ने गौतमले बताए । ‘पहिले एक हजार पार्टी सदस्य बराबर ३ जना प्रतिनिधि छनोट गर्ने मापदण्ड अपनाइएको थियो । यसपटक १२ सय सदस्य बराबर ३ जना प्रतिनिधि छनोट गर्ने सल्लाह भइरहेको छ,’ गौतमले भने ।
पार्टी सदस्य संख्या बढेकाले अनुपात बढाउनु परेको उनले बताए । गौतमका अनुसार एमालेमा ६ लाख ६३ हजार पार्टी सदस्य कायम भएको छ । जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास र आयोजक गरी २२ सयको हाराहारीमा प्रतिनिधि चयन हुनसक्ने अनुमान गरिएको छ । तर, यसबारे निर्णय सचिवालय बैठकले गर्ने स्थायी कमिटी सदस्य गौतमले बताए ।
सचिवालय बैठकको अर्को एजेण्डा जनपरिचालन हुने पनि उनले बताए । ‘पार्टीले प्रतिनिधि सभा पुनर्स्थापना भनेको छ । त्यसैले यो बैठकले जनपरिचालनको कार्ययोजना ल्याउँछ,’ गौतमले भने ।






Post Comment