यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
२० असोज, काभ्रेपलाञ्चोक।
गत वर्ष १२ असोजको बाढीपछि निर्माण गरिएको बीपी राजमार्गको डाइभर्सन यो वर्ष १८ असोजको रोशी खोलाको बाढीले पुन: बगाएपछि पूर्वी नाकाबाट काठमाडौं आउने यात्रुलाई समस्या परेको छ । काभ्रेको धुलिखेलदेखि सिन्धुलीको नेपालथोक हुँदै बर्दिबास पुग्ने राजमार्गको चौकीडाँडा-नेपालथोक खण्डमा गत वर्ष बनेका डाइभर्सन बगाएपछि पूर्वी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने कतिपय यात्रुहरू अलपत्र परेका छन् ।

बीपी राजमार्ग सञ्चालन हुन नसकेपछि वैकल्पिक मार्गको खोजी भएको छ । बीपी राजमार्गको पहिलो विकल्पका रूपमा सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली, दोलखाको चरिकोट हुँदै पुष्पलाल राजमार्गमार्फत उपत्यका प्रवेश गर्न सकिन्छ। बीपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली, तामाकोशी, दोलखाको चरिकोट, अरनिको राजमार्गको खडीचौर हुँदै काठमाडौं पुग्न सकिन्छ। यो राजमार्गको यात्रा गर्दा खुर्कोटबाट काठमाडौं पुग्न २०४ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ। यस मार्गबाट सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा लगायतका जिल्लाका सवारी साधनलाई दोलखा हुँदै राजधानी प्रवेशमा सहज हुन्छ ।

दोस्रो विकल्प
बीपी राजमार्गको दोस्रो विकल्पका रूपमा सिन्धुलीमाडीबाट मदनभण्डारी राजमार्ग हुँदै हेटौंडा अनि फाखेल हुँदै काठमाडौं प्रवेश गर्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले कार, जिप, भ्यान र मोटरसाइकल लगायत साना सवारी साधनलाई सिन्धुलीमाडी हुँदै हेटौंडा-फाखेल हुँदै काठमाडौं र अन्य सवारी साधनको हकमा सडकको मापदण्डबमोजिम ट्राफिक प्रहरीसँग समन्वय गरेर सिन्धुलीमाडी-हेटौंडा-पालुङ, धादिङको नौबीसे हुँदै काठमाडौं पठाउने गरी समन्वय भएको जानकारी दिए । मदनभण्डारी राजमार्गको मेचीदेखि धरान, इटहरी, उदयपुर हुँदै विमान भएर आउने सवारी तथा पूर्वको बर्दीबासबाट आउने सवारीलाई यो रुटबाट पठाउने व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालयसिन्धुलीले जनाएको छ । यो रुटबाट काठमाडौं आउन सिन्धुली सदरमुकाम माडीबाट हेटौंटा १२७ किलोमिटर तथा हेटौंडाबाट फाखेल हुँदै काठमाडौं आउन ८२ किलोमिटर गरेर २०९ किलोमिटरको दुरी पर्छ ।

अन्य सवारी साधनको हकमा तय भएको रुटमा सिन्धुली सदरमुकाम माडीबाट हेटौंटा १२७ किलोमिटर, हेटौंडा, पालुङ-नौबीसे ७० किलोमिटर तथा नौबीसेबाट काठमाडौंको कलंकी २२ किलोमिटर गरेर २१९ किलोमिटर दुरीमा काठमाडौं पुग्न सकिन्छ । तेस्रो विकल्प सिन्धुली, रामेछाप, दोलखा हुँदै काठमाडौं र सिन्धुलीमाडी-हेटौंडा-काठमाडौंको विकल्पमा अर्को रुट पनि प्रहरीले तय गरेको छ । जसमा बर्दीबास-हेटौंडा-काठमाडौं या बर्दीबास-हेटौंडा-नारायणगढ-मुग्लिन हुँदै काठमाडौं पुग्न सकिन्छ । तराई क्षेत्रबाट काठमाडौं आउने साना सवारी साधन र यात्रुबाहक बाहेकका मालबहाक सवारीलाई यो रुट हुँदै काठमाडौं जान सकिने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले रुट बनाएर सबै यातायात व्यवसायीहरूलाई सोही रुटअनुसार सवारी चलाउन अनुरोध गरेको छ । यो रुटमा चल्ने मालबाहक सवारीलाई भन्दा अलि लामो पर्छ । यो रुटमा बर्दिबासबाट हेटौंडा पुग्न १३० किलोमिटर, हेटौंडाबाट पालुङ-नौबीसे ७० किलोमिटर तथा नौबीसेबाट काठमाडौंको कलंकी २२ किलोमिटर गरेर २२२ किलोमिटरको दुरी पर्छ भने अर्को सबैभन्दा लामो दुरीको बर्दीबास-हेटौंडा-नारायणगढ-मुग्लिन-काठमाडौं जान सकिन्छ। यो रुटमा बर्दिबास-हैटौंडा १३० किलोमिटर, हेटौंडा-नारायणगढ ७७ किलोमिटर, नारायणगढ-मुग्लिन ४६ किलोमिटर तथा मुग्लिन-काठमाडौंको कलंकी १०४ किलोमिटर गरी ३५७ किलोमिटरको दुरी पार गर्नुपर्ने हुन्छ । प्रहरीले मालबाहक र ठूला सवारीलाई यो रुटमा चलाउन भनेको छ ।



Post Comment