प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
९ असोज, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनाव नै सरकारको मूल लक्ष्य भएको स्पष्ट सन्देश दिएकी छन् । त्यसका लागि उनले राजनीतिक दलसहित सबैलाई चुनावमा भाग लिन र सहयोग गर्न अह्वान गरेकी छन् । उनले जेनजीका केही अगुवाहरु लगायतले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र संविधान संशोधन लगायतको माग अहिले पुरा नहुने स्पष्ट उल्लेख गरेकी छन् । अब संविधान संशोधनको आवश्यक परे चुनावपछि मात्र नयाँ बन्ने संसद्ले गर्न सक्ने उनले स्पष्ट पारिन् ।‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकालेले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु’ उनले भनेकी छन् ।

सरकार बनेपछि करिब दुई सातासम्म राजनीतिक दलहरुसँग दूरी रहिरहेका बेला प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा दलहरुलाई पनि चुनावका लागि औपचारिक आह्वान गरिन् । चुनावका मुख्य सरोकारवाला राजनीतिक दलहरु हुन् । उनीहरुलाई संवादमा नल्याइकन चुनावको राजनीतिक प्रक्रिया अघि बढ्दैन । त्यसैले आजको सम्बोधनमा उनले चुनावलाई जोड दिएकी छन् । ‘फागुन २१ गते चुनाव सम्पन्न गर्न सरकारले आवश्यक जनतक्ति सुरक्षा कानुनी व्यवस्थाका लागि प्रारम्भिक काम सुरु गरिसकेको छ,’ उनले भनिन्,’ युवा पुस्ताको आकांक्षाको प्रतिनिधित्व गर्दै चुनावमा भाग लिन र चुनावलाई सहयोग गर्ने राजनीतिक दलसहित सबैलाई आह्वान गर्छु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।





Post Comment