झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
७ साउन, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गर्नुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गर्नुभयो ।
उहाँले एक पछि अर्को भ्रष्टाचारका काण्डहरु देखा परेको भन्दै भ्रष्टहरुले देशमा शासन गरिरहेको बताउनु भयो । उहाँले देशमा भ्रष्टाचार आज हरेक क्षेत्रमा व्याप्त रहेको बताउनु भयो । भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने बताउनु भयो । हरेक दिन २५ सय नेपालीहरु विदेशमा रोजगारीका लागि जाने गरेको र ५ जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै प्रश्न गर्नुभयो । सम्मानित नेता खनालले भन्नुभयो, ‘अहिले कस्तो सरकार बनिरहेको छ । के गरिरहेको छ । जनताको हितमा । कम्युनिष्ट पार्टीको सरकार छ । तर कम्युनिष्ट पार्टी कसरी भयानक ढंगले बर्बादीतर्फ, बदनामतर्फ गइरहेको छ । हामीले जुन बेलामा नयाँ जनवाद स्थापना गर्न सकेको भए समाजवादतर्फ जाने अनिवार्य आधार बन्थ्यो । तर पुँजीवादी जनवाद स्थापना भयो । बहुदलीय जनवाद स्थापना भयो ।
त्यसले हामीलाई दलाल पुँजीवादतर्फ लग्यो । राजनीतिक संकट हरदिन गहिरिएको छ । दुई वटा हात्ती जस्ता पार्टीहरु छन्, सत्तामा । कमिलो पनि मार्दैनन् । हात्ती जस्ता पार्टीहरुले । देश र जनताको हितमा कमिलो मार्न पनि यो सरकारले सक्दैन । एक पछि अर्को भ्रष्टाचारका काण्डहरु देखा परेका छन् । भ्रष्टहरुले देशमा शासन गरिरहेका छन् । भ्रष्टाचार आज यो देशको हर क्षेत्रमा व्याप्त भएको छ । जबसम्म भ्रष्टाचार उन्मुलुन गर्ने अभियान एउटा आँबीबेहरी ल्याउन सकिँदैन, तबसम्म यो देशका जनताले हक पाउने कुनै सम्भावना छैन । रोजगारी सिर्जना गर्ने कुनै सम्भावना छैन । हरेक दिन विदेशमा २५ सय मानिस जाँदैछन् । ५ जना मानिसहरुको शव बाकसमा फर्किएको छ । यही हो बहुदलीय जनवादले गरेको काम । पुँजीवादी जनवादले गरेको काम र प्रगति ? व्यवहारमा यही कुरा देखिरहेका छौँ ।’ सम्मानित नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिष्ट आन्दोलन भड्किएको बताउनु भयो । ०६२—०६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको बताउनु भयो ।
Post Comment