सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
२७ असार, काठमाडौं ।
इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीका इञ्चार्ज प्रहरी नायब निरीक्षक (प्रनानि) सुभाष यादव असार महिनाका लागि सर्लाही जिल्लाका उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रनानि यादवको नेतृत्वमा भन्सार छल गरेर ल्याइएका ठूला परिमाणका सामानहरू नियन्त्रणमा लिइएका छन्।
उनले विभिन्न मितिमा झण्डै चार करोड ३६ लाख ४२ हजार ७७१ रुपैयाँ बराबरको लसुन, इलेक्ट्रोनिक्स उपकरण, हार्डवेयर पार्ट्स, रबर, सुपारी, औषधि, कपडालगायत सामग्री बोकेका १० वटा ट्रक नियन्त्रणमा लिने सफलता हासिल गरेका थिए। त्यसैगरी, २२ असारमा परालको भुसमा लुकाएर ल्याइएको ८२० किलो काजु बरामद गरिएको थियो, जसको बजार मूल्य करिब १३ लाख रुपैयाँ रहेको छ।
प्रनानि यादवको सक्रियतामा भारतसँगको सिमाक्षेत्रमा भइरहेको मानव तस्करी नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुगेको छ। भारतीय सुरक्षाकर्मीहरूसँगको समन्वयमा भारततर्फ लैजाँदै गरिएका बालबालिकाको उद्धार समेत सफलतापूर्वक गरिएको छ। उनले सर्लाही जिल्लामा अपराध नियन्त्रण, भन्सार छलवाझ रोकथाम तथा समन्वयकारी सुरक्षात्मक गतिविधिहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
Post Comment